दमक/ सहकारी संस्थाहरुबीच निक्षेपको ब्याज दर र कर्जाको ब्याजदरमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई हटाएर सहकारीको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा सहकारी क्षेत्रका अगुवाहरुले जोड दिएका छन ।

सहकारीहरुमा माथि भइरहेको नियोजित प्रहारका बिषयमा सञ्चालक र सदस्यहरु गम्भिर हुनुपर्ने पनि सरोकारवालाहरुको निष्कर्ष छ ।
आज बुधबार दमकमा दमक उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी संस्थाका सदस्यहरुनै संस्थाका मालिक समेत भएको हुँदा संस्थाका गतिबिधिहरुको सदस्यहरुले सुक्ष्म अनुसन्धान गरेर कमि कमजोरीहरु सच्याउँदै अघि बढन आवश्यक रहेको पनि औंल्याए ।
संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा पछिल्लो आर्थिक अवस्था र सहकारीहरुमा देखिएको समस्याका बिषयमा केन्द्रित छलफलका सहभागीहरुले त्यस्तो औंल्याएका हुन ।
कोरोना महामारीका समयमा लगानी हुन नसकी सहकारी संस्थाहरुमा जम्मा भएको बचत रकम लगानी गरेका सहकारी संस्थाहरुको कर्जा लगानी असुल हुन नसक्दा बचतकर्ताहरुको बचत रकम फिर्ताको समस्या देखिएको सहकारी संस्थाका जिल्लास्थित अगुवाहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाले सहकारी संस्थामा जम्मा भएको बचत रकम नै सदस्यहरुलाई लगानी गरिएका कारण कर्जा लगानी फिर्ताको वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले सहकारी संस्थाहरुबीच निक्षेप रकमको ब्याजदर र संस्थाहरुको कर्जा नीतिमा एकरुपता नभएका कारण अस्वस्थ प्रतिस्पर्धा हुँदा जोखिम बढेको पनि औंल्याए । जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले सहकारी संस्थाका नीति , सिद्धान्त भित्र रहेर चलेका सहकारीहरुमा तुलनात्मक रुपमा कम समस्या रहेको बताए । न्यौपानेले सहकारी अभियानमाथिनै नियोजित रुपमा बैंकर्सहरुले योजनाबद्ध आक्रमण गरिरहेको तर्क गर्दै यसबाट सहकारी अभियानलाई जोगाएर अघि बढाउनुपर्ने साझा चुनौती रहेको बताए ।
जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझाले सञ्चालकहरुको पहिचान नगरी संस्थामा एकोहोरो बचत रकम मात्रै जम्मा गर्दा दमकमा तुलसी बहुमुखी सहकारी संस्थाले करोडौं रुपैयाँ झ्वाम पारेको बताए । उनले दमकमा निक्षेप मात्रै संकलन गर्ने र कर्जा लगानी नगरी नियतवश बचतकर्ताहरुको रकम तुलसी सहकारीले डुबाएको उल्लेख गरे । मेची बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराईले एकाध सहकारीका नाममा भएका घटनालाई जोडेर समग्र सहकारी आन्दोलनलाई बदनाम गराउने कुचेष्टाको सामुहिक प्रतिवाद गर्न आवश्यक रहेको सुझाए ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले सहकारी संस्थाको लगानी कतिपय व्यवसायीहरुलेनै डुबाएर फरार भएको बताउँदै सहकारीको यस्तो लगानी डुब्नुको पछाडी पूर्व साबधानीको अभाव प्रमुख कारण रहेको बताए । उनले एउटै सदस्यलाई पाँच÷छ वटा सम्म सहकारी संस्थाहरुले लगानी गरेका कारण त्यस्तो सदस्य व्यवसायी फरार हुँदा ठुलो लगानी जोखिममा परेको बताए । त्यसबाट बच्न सहकारीहरुले संघसंग सहकार्य र समन्वय गरेर मात्रै लगानी गर्ने अभ्यास गर्न सुझाव दिए ।
सो अवसरमा संघका पूर्व अध्यक्ष बिजय बराल, लेखा संयोजक नेत्र चम्लागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खडका, प्रथम उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रुवल अधिकारीसहित दमकमा रहेका करिब ५० वटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । दमकमा १०० हारहारीमा सहकारी संस्थाहरु रहेका भएपनि आंिशक सहकारी संस्थाहरु सो छलफलमा सहभागी भएका हुन ।
