दमक/ दमकमा तुलसी बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरुको समूहले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।बिहिबार दमक -९ स्थित सहकारी परिसरमा भेला भएका बचतकर्ताहरुले ब्यानर बोकेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । पीडित बचतकर्ताहरुले पश्चिम बसस्टेण्डदेखि दमक चौंकसम्म नाराबाजी गरि प्रर्दशन गरेका हुन् ।

विराटनगरमा मुख्य कार्यालय रही दमकमा समेत सेवा केन्द्र सञ्चालन गरेर पाँच बर्ष अघिदेखि कारोबार गर्दै आएको सो संस्थाको कार्यालय घोषित रुपमा नै बन्द भइसकेको छ ।
सो संस्थाले दमकमा विभिन्न आकर्षक नाराहरु दिएर मंहगो ब्याज दिने भन्दै हजारौं बचतकर्ताहरुबाट करिब ७० करोड रुपैयाँ संकलन गरी कारोबार बन्द गरेपछि बचतकर्ताहरु ठगिएका हुन् । सो संस्थामा कति सदस्यहरुको कति बचत रकम थियो भन्ने विस्तृत , आधिकारिक तथ्याकं, सञ्चालक समितिको विवरण आदी विवरण नभएपनि पीडितहरुको संख्या एक हजार भन्दा बढी रहेको र उनीहरुको बचत रकम ७० करोड भन्दा बढी रहेको अनुमान सहकारी अभियान्ताहरुले गरेका छन् ।
उनीहरुले सो सहकारी स्थानीयस्तरमा कुनै पनि निकायमा आवद्ध नरहेको र सहकारीहरुको छाता संगठनमा समेत आवद्ध नरहेको झापा जिल्ला सहकारी संघका लेखा समिति संयोजक समेत रहेका स्थानीय सहकारी अभियान्ता चुडामणी ओझा बताउँछन् । सो सहकारीमा २४ प्रतिशत सम्म ब्याजको प्रलोभनमा परेका बचतकर्ताहरुले दमकका अन्य सहकारी तथा बैंकहरुमा रहेको बचत रकम समेत झिकेर लैजाने गरेका थिए ।
यसअघि दमकमा समेत कारोबार गर्दै आएको कमल २ स्थित पूर्व नेपाल बहुउद्धेश्यीय सहकारीले पनि बचत कर्ताहरुको रकम फिर्ता नगरेको बाहिर आएको थियो । ४ बर्ष अघि दमकमा स्वर्गपुरी बचत तथा ऋण सहकारी , नारायणी बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताहरुको रकम हिनामिना गरेका थिए । सहकारी रजिष्टारको कार्यालयबाट आएका अनुुगमनकर्ताहरु सहकारी अनुगमनका नाममा बचतकर्ताहरुको निक्षेप जोखिममा पारेका सहकारीका कर्मचारी तथा नाम मात्रका सञ्चालकहरुसंग गोप्य भेटघाट गरेर जाने गरेका जानकारहरु बताउँछन् ।
सहकारी संस्थाहरुले बैंकिङ्ग शैलीमा कारोबार गर्दै निक्षेपकर्ताहरुको रकम जोखिममा पारिरँदा नियमनकारी निकाय भने मौन बसेको आरोप बचतकर्ताहरुको छ । दमकमा सञ्चालित करिब एक सय सहकारी संस्थाहरु मध्ये ८० प्रतिशत सहकारीहरु अहिले बजारमा गरेको लगानी उठन नसकेको भन्दै बचतकर्ताहरुको रकम फिर्ता गर्न सकिरहेका छैनन् । कतिपय सहकारीहरुले मंहगो ब्याजदरमा पैसा लिएर सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गरिरहेका छन् । सर्वसाधारणहरु सहकारी डुब्ने हल्लाले आवधिक बचत खाताको अवधि पुरा नहुँदै बचत रकम फिर्ता माग्न सहकारी धाउने गरेकाले समस्या भएको पनि बताइएको छ । सहकारी शिक्षाको कमी, अस्वस्थ प्रतिस्पर्धा , महंगो ब्याजको प्रलोभन र सहकारी कर्मचारीहरुको महंगो जीवनशैलीका कारण सहकारीहरुमा सर्वसाधारणको निक्षेप रकम जोखिममा परिरहेको हो ।