उर्लाबारी/ उर्लाबारीमा आयोजित उर्लाबारी सेफ्टी ट्याङ्कीद्वारा उर्लाबारीमा आयोजित दोस्रो उर्लाबारी सेफ्टी ट्याङ्की वि डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकका पुष्प पाण्डे र उत्सव उप्रेतीको जोडीले जितेको छ । उर्लाबारी–४ स्थित षडानन्द खतिवडा स्मृति कवर्ड हलमा आज सम्पन्न प्रतियोगितामा पथरी शनिश्चरेका सुमन राई र दिलकुमार राईको जोडीलाई पराजित गर्दै दमकको टिम विजेता बनेको हो ।
उपाधिसँगै पाण्डे र उप्रेतीको जोडीले नगद १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो बनेका पथरीका सुमन र दिलकुमारको जोडीले नगद १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उर्लाबारीका दावा तामाङ र चन्द्र लिम्बू तथा सञ्जय घिसिङ र राजु कट्वालको जोडी तेस्रो भएको छ । तेस्रो हुने टिमले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक सोमप्रसाद गुरागाईँले जानकारी दिए ।
विजेताहरुलाई उर्लाबारी नगरपालिका वडा नंं ४ का वडाध्यक्ष कल्याणकुमार राई, उर्लाबारी व्याडमिन्टन क्लबका अध्यक्ष हंशराज फागो, खेल संयोजक विक्रम गुरागाईँ लगायतले पुरस्कार प्रदान गरेका थिए । हिजो सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३४ टिमको सहभागिता रहेको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, सुनसरी, मोरङ र झापाबाट खेलाडीको सहभागिता रहेको संयोजक गुरागाईले जनाए ।
