दमक/ तुलसी बहुमुखी (बहुउद्देश्यीय) सहकारी संस्था लिमिटेड विराटनगर–२ का सञ्चालक तथा पदाधिकारीहरु विरुद्ध प्रहरीले ठगी सम्बन्धी मुद्धा दायर गर्दै केही तथ्यहरु सार्वजनिक गरेको छ ।
संस्थाका क्षेत्रिय प्रवन्धकसहित ८ जना पदाधिकारहरूका विरूद्धमा परेको जाहेरीका आधारमा तीन जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापा भद्रपुर नगरपालिका वडा नं. १४ घर भई विराटनगर महानगरपालिका वडा नं. ३ बस्दै आएकी सहकारी संस्थाकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन । मुद्धा दायर गरिएका ८ जना मध्ये अन्य ५ जना पदाधिकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीद्धारा सोमबार सार्वजनिक गरिएको विवरण अनुसार नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ साल चैत्र १३ गते सहकारी विभागमा दर्ता नं. ४१७ को प्रमाण पत्र लिएर सो सहकारी सञ्चालनमा आएको थियो । जसको केन्द्रीय कार्यालय विराटनगर २ मा रहेको र यसका सदस्य सङ्ख्या २१ हजार ७१३ जना रहेका छन । ४ हजार भन्दा बढी सदस्यहरू विराटनगरमा रहेको केन्द्रीय कार्यालयमा आबद्ध रहेका छन भने दमक, गाइघाट र गोलबजारमा रहेको सेवा केन्द्र मातहतमा समेत सदस्यहरु उल्लेख्य संख्यामा रहेका छन ।
सो सहकारी संस्थाको कार्यालय गत फागुन १ गतेदेखि बिना जानकारी बन्द गरी सञ्चालन समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भई बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार भएका थिए । संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत , कर्मचारी चल्ती बचत , विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारेर ठुलो रकम लिएको देखिन्छ ।
सहकारी संस्थाको केन्द्रीय कार्यालय समेत बन्द गरि सञ्चालकहरु नै फरार भएपछी आफूहरु ठगीमा परेको थाहा पाई आन्दोलनमा रहेका पीडितहरु मध्ये सोमबार मात्रै पीडित रमा पौडेलसहित १२१ जना पिडितहरूले ठगी कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका छन ।
प्रहरीको हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनावद्ध तरिकाले ठुलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिएको छ ।
यसअघि संस्थाकी उपाध्यक्ष गौतम र सचिव न्यौपानेले आफना बचतकर्ताहरुलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरेको भन्ने निवेदनका आधारमा पक्राउ गरि अनुसन्धान भइरहेकोमा सोमबार उनीहरुसहित ८ जना विरुद्ध ठगी मुद्धा समेत परेपछि प्रहरीले सो बारे केही तथ्यहरुसहित उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले सो सहकारीबाट ठगिएका पीडितहरुलाई पाँच दिन भित्र प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिन पनि सूचित गरेको छ ।
दमकमा यसअघि तुलसी बहुमुखी सहकारीबाट ठगिएका पीडितहरु सयौंको संख्यामा भेला भई दमक नगरपालिकामा समेत निवेदन दिएका थिए । उनीहरुले करोडौंको कारोबार गर्दै खुलेआम रुपमा ठगि गरिरहेको सो सहकारीको ठगी धन्दा समयमै बन्द गराउन सम्बन्धित निकायले चासो नराख्दा दमक क्षेत्रका सयौं बचतकर्ताहरुको करोडौं रुपैया जोखिममा परेको भन्दै स्थानीय सरकार , सहकारी अभियान्ताहरु र सहकारी विभाग लगायतका नियमनकारी निकायहरुसँग आक्रोश पोख्दै आएका छन ।