खोटाङ / प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ । गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित रू १० लाख बजेट कार्यक्रम नै नगरी सकिएको खुलासा भएको हो ।
निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि प्राप्त रकममध्ये रू आठ लाख एक हजार दुई सय एकको गर्भवती जाँचका क्रममा प्रयोग हुने ल्याबको रि–एजेन्ट, युएसई गर्ने पेपर र जेल्ली खरिद गरेको पाइएको छ ।
प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार गर्भवतीको निःशुल्क रगत जाँच तथा भिडियो एक्स–रे सेवाका लागि जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको थियो ।
निःशुल्क गर्भवती जाँचमा खर्च गर्नुपर्ने बजेटमध्ये बस्नेत सर्जिकल हाउस त्रिपुरेश्वर काठमाडौँबाट रू छ लाख नौ हजार तीन सय छ र एमआरएस इन्टरप्राइजेज त्रिपुरेश्वर काठमाडौँबाट रू एक लाख ९१ हजार आठ सय ९५ को सामग्री ल्याइएको भ्याट बिलमा उल्लेख छ ।
एमआरएस इन्टरप्राइजेजको मङ्सिर १८ गतेको भ्याट बिलमा रू ४६ हजार छ सय ४०, मङ्सिर २१ गते काटिएको बिलमा रू ४५ हजार एक सय ७१ र पुस १ गतेको बिलमा रू एक लाख ८४ को सामान खरिद गरिएको देखिन्छ ।
यस्तै बस्नेत सर्जिकल हाउसबाटै भदौ ५ गते रू दुई लाख ३९ हजार छ सय ६१, सोही मितिमा रू एक लाख ५८ हजार नौ सय र पुस २१ मा रू दुई लाख १० हजार सात सय ४५ को सामान खरिद भएको उल्लेख छ । गत माघ ६ गते डा दीपेश परियार प्रमुख भएर आउनुभएपछि निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अन्यत्र खर्च भएको खुलेको हो ।