दमक/ दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ नेतृत्वको संयुक्त प्यानलका उम्मेदवार सोबिम न्यौपाने १०४३ मतसहित निर्वाचित भएका छन । सोमबार मध्यरातमा सकिएको प्रत्यक्ष तर्फको मत गणनामा सभापतिका अर्का प्रत्यासी अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका निशेष राईलाई हराउँदै सभापतिमा न्यौपाने निर्वाचित भएका हुन । राईले ९३४ मत पाएका छन ।
त्यसैगरी सचिवमा नेविसंघकै दिपक लिम्बु १०९८ मत ल्याएर विजयी भएका छन भने अनेरास्ववियुका रविन ढकाल ८४१ मतमा सिमित भएका छन । त्यसैगरी कोषाध्यक्ष अखिल क्रान्तिकारीकी उमा राई १०५७ मत ल्याएर निर्वाचित हुँदै गर्दा उनका प्रतिस्पर्धी रविन अधिकारीले ८५७ मतमा पाएका छन । सदस्यहरुमा नेविसंघ नेतृत्वको प्यानलका सायन साम्पाङ राई, सबिन गौतम, हेमन्त सिटौला र हिमान्सु जयसवाल विजयी भएका छन भने अनेरास्ववियुका राई नेतृत्वको प्यानलबाट सदस्यहरुमा निसम अधिकारी, भिष्महाङ सम्बाहाम्फे, अनिस राई र सञ्जय राई निर्वाचित भएका छन ।  दमक बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघको नेतृत्वमा नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियु , जनता समाजवादी पार्टी निकट बिद्यार्थी संगठन र विप्लव नेतृत्वको नेकपा समर्थित अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको थियो भने सो टिमका विरुद्ध एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघले संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए ।

Facebook Comments Box