दमक/ तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनाको गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

उनीहरुलाई ५ चैतमा प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका कटवालले तिब्बती शरणार्थीको नागरिकता बनाउन विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थिति गराएर सनाखत गराएका थिए । सो गिरोहले शरणार्थीसँग जनही ३ देखि ५ लाख रुपैयाँ लिएर किर्ते नागरिकता बनाइदिँदै आएका थिए ।
