उर्लाबारी/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसरमा उर्लाबारीमा सदस्य शिक्षा तथा आँखा शिविर सञ्चालन गरेको छ । उर्लाबारी सेवा केन्द्रले बुधबार सदस्य शिक्षा अन्तरक्रिया र आँखा शिविर संचालन गरेको हो ।
संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले संस्थाको इतिहास समेटिएको शब्द चित्र प्रस्तुत गर्दै हालसम्म गरेको कामहरु, संस्थाको वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी दिएका थिए ।
बचत योजनामा सहभागी हुने सदस्य र सदस्यको परिवारले जन्मदेखि मृत्युसम्म प्राप्त गर्ने सेवाहरुका बारेमा पनि घिमिरेले अवगत गराएका थिए । सहकारीका संचालक समिति अध्यक्ष बुद्धिसागर बराल विमलले संस्थामा आवद्ध सदस्यलाई समृद्ध बनाउने योजनाका साथ स्वर्णलक्ष्मी सहकारी अघि बढेको उल्लेख गरे । शेयर सदस्यहरुको सुख दुःखको क्षणमा जीवन सहाराको काम गर्दै संस्था र सदस्य बीचको सम्बन्ध प्रगाढ तथा पारदर्शी बनाउने अभियानमा संस्था रहेको समेत बरालले बताए । उर्लाबारी –६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष पौडेलले स्वर्णलक्ष्मी सहकारीले शेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् संचालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताको अपेक्षा गरे ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले राधिका मावि उर्लाबारी – ६ का २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । उनीहरुलाई जनही स्कुल ब्याग उपलब्ध गराइएको हो ।
यस्तै, संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट शेयर सदस्य र स्थानीय लाभान्वित बनेका छन् । बिर्ताज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोग रहेको शिविरमा विशेषज्ञ चिकित्सकहरुले आँखाको चेकजाँच गरेका थिए ।
स्वर्णलक्ष्मी सहकारीले दमकका अलवा उर्लाबारी, झिलझिले, सुरुगां र गौरादहबाट सेवा प्रवाह गर्दै आएको छ ।
