एक अर्कामा कथा बाँडौ भन्ने सन्देशसहित  आइतबार अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । एकातिर विद्युतीय उपकरणमा मानिसको मोह, पुस्तकको महँगिदो मूल्यका कारण नेपालमा पुस्तक पढ्ने संस्कृति घट्दै गएको छ । कागजको मूल्यमा प्रोत्साहन र भन्सारमा नीतिगत सुधार नगर्ने हो भने पुस्तक व्यापार थप जटिल बन्ने विक्रेताहरुको अनुभव छ ।

पठन र लेखन संस्कृति बढाउने उद्देश्यले विश्वभर अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइन्छ । पछिल्ला केही दशकयता नेपालमा पनि यो पर्वको सान्दर्भिकता बढेको देखिन्छ । प्रज्ञा र चैतन्यप्रति मानिसलाई प्रोत्साहित गर्न एकदिने उत्सवले सन्देश दिएपनि कागजको मूल्यवृद्धि, अविवेकी भन्सार नीतिले पुस्तक व्यापारमाथि उठ्न नसकेको व्यापारीको ठहर छ ।

दिनमा २५ देखि ३० वटा किताब बिक्री हुने आफ्नो पसलमा अहिले दुई तीन वटा पुस्तकको व्यापारमा चित्त बुझाउनु परेको उनीहरु बताउँछन् । पाठकले समयमा पुस्तक किन्न नपाउँदा पुस्तकप्रति पाठकको आकर्षण घटेको विक्रेता सिद्धार्थ महर्जन बताउनुहुन्छ ।

खासगरी खोजमुलक, अनुसन्धानमूलक, जीवनी, आत्मबृत्तान्त विधाका, पुस्तकहरु पाठकको रोजाइमा पर्ने गरेका छन् । विद्युतीय माध्यमको सहजताले पाठकको किताब किनेर पढ्ने बानीमा कमी आएको सत्य भएपनि किताबको पेज पल्टाएर पढिने आनन्द अरुबाट नपाइने सम्झना तिमल्सिना बताउनुहुन्छ ।

विगत पाँच दशकदेखि जमलमा पुस्तक फिँजाएर व्यापार गदै आएका व्यापारी झिंगा धपाएर बस्नु परेको गुनासो गर्छन । देशका हरेका क्षेत्रमा परेको आर्थिक मन्दीको प्रभाव पुस्तकालयमा पनि परेको छ । पाठकले खोजेको समयमा पुस्तक उपलब्ध गराउन नसक्नु अनि पाठकले चाहेको समयमा किन्न नपाउँदा पाठकको आकर्षण घटेको जमलमा पुस्तकको व्यापार गर्दै आएका फुटपाथका पुस्तक विक्रेताका बताउछन् ।

राज्यको नीतिमा पुस्तक प्रकाशन र कागजको मूल्य सहज नभएसम्म पुस्तक मात्र हैन, बिल पनि विदेशबाट छापेर ल्याउनुपर्ने अवस्था आउने भय बिक्रेताहरुमा छ । तास, मदिरा, धूमपानजस्ता विलासी वस्तुको आयातमा प्रोत्साहन गर्ने सरकारले प्रज्ञासँग जोडिएको यो विषयलाई उच्च प्राथमिकतामा राखेर नीतिगत निर्णय गर्न आवश्यक छ । बजेट आउन एक महिना बाँकी रहेको अवस्थामा यो विषयमा सम्बोधन हुन सके बौद्धिक क्षेत्रमा ठूलो गुन लाग्ने थियो ।

Facebook Comments Box