दमक । दमकस्थित ऊँ मेची अस्पतालमा सञ्चालित बाँझोपन तथा निसन्तान दम्पतीको उपचार तथा परामर्श सेवासम्बन्धि शिविर सम्पन्न भएको छ ।
शुक्रबार अस्पतालले भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको सहकार्यमा सञ्चालन गरेको शिविरमा निसन्तान तथा बाँझोपना समस्या भएका १३७ जोडी दम्पत्तीले सेवा लिएका अस्पतालका कार्यालय प्रमुख सत्यनारायण यादवले जानकारी दिए ।
सेवा लिन आएका दम्पतीलाई न्यू फर्टिलाइजर सेन्टरबाट आएका विशेषज्ञ डाक्टरहरु प्रसिञ्जितकुमार रोय र सिफली वंशल माधवले परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए । उनीहरुलाई विर्तामोडस्थित एनएलआर ल्याबबाट ल्याव सेवा प्रदान गरिने जनाइएको छ ।
शिविरको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उदघाटन गर्दै बाँझोपन तथा निसन्तानको समस्या आफैंमा कुनै रोग नभई अर्कै कुनै समस्याका कारण भोग्नु परेको समस्या भएकाले यसलाई लुकाएर नराखि उपचार सेवामा आउन आग्रह गरे । उनले अस्पतालले त्यस किसिमको सेवाका लागि लिएको पहलकदमीलाई सकारात्मक रुपमा लिन समुदायलाई आग्रह गरे ।
अस्पतालका निर्देशक डा. शंकरप्रसाद हुजदारले अस्पतालमा सञ्चालित शिविरमा आएका दम्पतीहरुको स्वास्थ्य परिक्षण रिपोर्टका आधारमा दिन सक्ने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । अस्पतालका सञ्चालक ढुण्डीराज भण्डारीले स्वागत गर्दै यस किसिमको सेवा लिन कसैले पनि हिच्किचाउनु नहुने बताए । उनले अस्पतालले विशुद्ध सेवाको भावना राखेर यो कार्यक्रम ल्याएको बताए । कार्यक्रम अस्पतालका अध्यक्ष डा. निरञ्जनसिंह बोगटीको अध्यक्षतामा भएको थियो ।
डा.हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गदैं नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएकाले यसको आवश्यकता खडकिएको उल्लेख गरेका छन् ।