दमक । झापाको गौरादह नगरपालिकाले पछिल्लो एक बर्षका उपलब्धिहरु सार्वजनिक गरेको छ ।
नगरपालिकाले आज मंगलबार पत्रकार सम्मेलन गरी नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक बर्षको अवधिमा भए गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो । गौरादह नगरको प्रमुखमा छत्रपति सुवेदीले २०७९को १३ जेठमा कार्यभार सम्हालेका थिए ।
पत्रकार सम्मेलनमा नगर प्रमुख सुवेदीले चालू आर्थिक बर्ष २०७९,८० मा नगरस्तरीय २०७ वटा योजना सञ्चालनमा रहेको जानकारी दिदैं ति मध्ये १५४ योजनाको सम्झौता भई ७५ वटाको भुक्तानी समेत भइसकेको बताए । त्यस्तै कूल ९ वडा रहेको नगरमा २९४ वटा वडास्तरीय योजना मध्ये जेठ १० सम्ममा २३२ योजनाको सम्झौता भइ १५९ वटाको भुक्तानी समेत भइसकेको नगर प्रमुख सुवेदीले जानकारी दिए । कार्यक्रममा पालिका अन्तर्गतका सबै शाखाहरुको प्रगति विवरणसहितको प्रतिवेदन वितरण गरिएका थियो ।
पत्रकार सम्मेलनमा आफूले पदभार सम्हाल्दै गर्दा लिएका महत्वपूर्ण दुई निर्णयहरु मध्ये छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ती प्रदान गरिएको र स्वास्थ्य बीमा कार्यक्रमसहितको नगर अस्पताल सञ्चालन गर्ने उल्लेख रहेकोमा अस्पतालमा सो सेवा समेत सञ्चालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख सुवेदीले बताए । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको अनुगमन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको अनुमति दिनुपर्नेमा बोर्डको ढिलासुस्तीका कारण सेवा सुचारु हुन नसकेको जिकिर गरे ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारी, सुशासन तथा सेवा प्रवाह सम्बन्धिको समितिका संयोजक गोपाल कोइराला र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले पनि उठेका जिज्ञासाहरुको समाधान गरेका थिए । उनीहरुले नगरपालिकामा अघिल्लो पटक रहेको बेरुजुको ठुलो हिस्सा फस्र्यौट गर्ने काममा उल्लेखनीय प्रगति भएको पनि दाबी गरे ।
त्यहाँ वितरित नगरपालिकाको कामहरुको फेहरिस्तमा नगरमा रहेका बिरामीको संख्या, न्यायिक समितिले सम्पादन गरेका काम, भौतिक पूर्वाधारहरुको बिकासमा भएको प्रगति, विभिन्न किसिमका कार्यालयीय सेवाबाट लाभान्वितहरुको संख्या आदि समेटिएको छ । तर पालिकाले पछिल्लो एक बर्षको अवधिमा बसेका बोर्ड बैठक, कार्यपालिका बैठकका निर्णयहरु र तिनको कार्यान्वयनको अवस्थाबारे उल्लेख छैन् ।

Facebook Comments Box