दमक/ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर दमक नगरपालिकाले आज दमक नगर भित्रका समुदायिक बिद्यालयबाट सेवा निबृत्त ७ जना शिक्षक र गत बर्षको एसईईमा उत्कृष्ट जीपीए ल्याउन सफल बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
नगर भित्रका सामुदायिक र संस्थागत बिद्यालयबाट र फरक क्षमता भएका बिद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको नगरपालिकाका शिक्षा अधिकृत प्रविण खडकाले जानकारी दिए ।
सम्मानित हुनेहरुमा गत आर्थिक बर्षमा सेवा निवृत्त भएका शिक्षकहरु पाणीनि माविकी दुर्गा काफ्ले, चुलाचुली माविका होमनाथ ढकाल, ढुकुरपानी माविका नेत्रप्रसाद अधिकारी र हेमराज खड्का, पृथ्वी माविका डम्बर कुमार राई, सिंहदेवी माविका शारदा प्रसाद उपाध्याय र पशुपति संस्कृत माविका देविकुमार रिजाल रहेका छन । उनीहरुलाई नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार कार्की , नगर शिक्षा समितिका संयोजक समेत रहेका दमक ९ का वडाध्यक्ष कुबेर भट्टराई, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटा लगायतले सम्मान प्रदान गरे । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सो कार्यक्रममा गत बर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु एभरेष्ट बोर्डिङ स्कुलका विवेक थापा, हिमालय माविका स्वस्तीका श्रेष्ठ र आदित्य वस्ती र ग्लोबल बोर्डिङ स्कुलकी सृजना श्रेष्ठ साथै फरक क्षमता भएका उत्कृष्ट सरस्वती माविकी निर्मला कार्की र ग्लोबल बोर्डिङ स्कुलका भाष्करदेव राईलाई जनही नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले स्थानीय सरकारले सेवा निवृत्त शिक्षकहरुको आत्मसम्मान र उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई हौसला प्रदान गर्न पुरस्कृत गर्ने कामको थालनी गरिएको बताए । नगर उपप्रमुख रेगिना भट्टराईले व्यवसायिक र सीपमुलक शिक्षा हासिल गरेर स्वदेशकै सेवामा समय खर्चिन बिद्यार्थीहरुलाई आग्रह गरिन । उनले सेवा निवृत्त शिक्षकहरुलाई आफनो अनुभव , योग्यता र क्षमताको स्थानीय बिकासमा भरपुर उपयोग गर्न आग्रह गरिन ।
सो अवसरमा सम्मानितहरुको तर्फबाट सिंहदेवी माविका सेवा निवृत्त शिक्षक शारदाप्रसाद उपाध्यायले लामो समय सम्म बिद्यालयमा काम गर्दाको सम्झनासहितको कविता मार्फत आफ्ना अनुभवहरु राखेका थिए ।
नगरपालिकाले यसैबर्षदेखि शुरु गरेको सामुदायिक बिद्यालय सुधारको योजना कार्यान्वयनको मुल्याङकनमा नगरभरबाट सर्वोउत्कृष्ट ठहरिएको ढुकुरपानी मावि, दोश्रो उत्कृष्टता हासिल गर्ने पशुपति संस्कृत माविसहित बिद्यालयहरुले प्राप्त गरेको नतिजा घोषणा समेत गरिएको थियो । नगर शिक्षा समिति संयोजक भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका सोमनाथ गुरागाइँले गरेका थिए ।