दमक/   पूर्वी तराईमा बसोबास गर्ने अल्पसंख्यक तथा सिमान्तकृत सन्थाल जातीले मनाउने मौलिक पर्व सोहराय झापाको गौरीगञ्जमा बृहत साँस्कृतिक कार्यक्रमसहित मनाइएको छ ।

आदिवासी सन्थाल उत्थान संघ गौरीगञ्जको आयोजनामा मंगलबार सन्थाल समुदायको सबै भन्दा ठुलो पर्व सोहराय अवसरमा वडा नं २ को बगाहाचौधरीमा सो कार्यक्रम गरिएको हो । कार्यक्रमको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले उदघाटन गर्दै स्थानीय सरकार सिमान्तकृत तथा लोपोन्मुख जातीको संस्कार, संस्कृति संरक्षण गर्न आवश्यक नीति कार्यक्रमसहित अघि बढेको बताइन । उनले सन्थाल जातीले आदिमकालदेखि झापा, मोरङमा मानव वस्ती बिकासका लागि दिएको योगदानको विशेष महत्व रहेको पनि उल्लेख गरिन ।

कार्यक्रममा नेपाल आदिवासी सन्थाल उत्थान संघका केन्द्रिय अध्यक्ष सुन्दर बेस्राले नेपालमा आदिवासी जनजाति समुदाय भित्र पनि संथाल समुदाय पिछडिएको जाति भएकोले राज्यले सन्थाल समुदायलाई राज्यको मुलधारमा ल्याउन सरकारले आवश्यक पहल कदमी लिनु पर्ने बताए । नेपाल आदिवासी सन्थाल उत्थान संघका केन्द्रिय उपाध्यक्ष मनोज वास्कीले सन्थाल समुदायको भाषा, धर्म, संस्कृति, पहिरन, खानपान, रितीरिवाज मुलुकको सम्पति र गहना भएकोले त्यसको जगेर्ना गर्नु आवश्यक भएको बताए । कार्यक्रममा आदिवासी जनजाति महासंघ गौरीगञ्जका अध्यक्ष गंगा प्रसाद राजवंशी, कार्यपालिका सदस्य रिता तामाङ वडा सदस्य नेत्र राजवँशी पूर्व वडा सदस्य अरुण राजवँशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । सन्थाल जातिय सांस्कृतिक उत्थान समितीका अध्यक्ष जेठा मुर्मुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सन्थाल संस्कृती झल्किने बिभिन्न सांस्कृतिक लोक नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box