दमक/  दमक नगरपालिकालाई बिद्युत प्राधिकरणले बिद्युत महसुलको बक्यौता असुल्न ताकेता गरेपछि नगरपालिकाले पनि प्राधिकरणसँग बिद्युत पोल र ट्रान्सफर्मर राखे वापतको भाडा असुल्ने भएको छ ।   नगरपालिकाले नगर भित्र गाडिएका बिद्युत पोल र बिद्युत ट्रान्सफर्मर राखिए वापत बिद्युत प्राधिकरणसँग जग्गाको भाडा वापत शुल्क असुल्ने निर्णय लिएको  हो ।
नगरपालिकाको १३ औं नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडा वापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।
नगरपालिकाको ९ माघमा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल १७० वटा बिद्युत मिटरमा उठेको महसुल वापतको बक्यौता ६ करोड ९३ लाख ६१ हजार रुपैयाँ तिर्न बिद्युत प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफल समेत भएको छ ।
सो छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्ती बापतको बिद्युत महसुलका कारण नगरपालिकाका नाममा बिद्युत महसुलको बक्यौता देखिएको ठहर पनि गरेको छ । अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा बिद्युत मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सोपछि सम्बन्धित टोल बिकास संस्थाले आफैं ब्यहोर गर्नुपर्ने गरि मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको छ ।
त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल कवलहरुको सम्झौतामा उल्लेख भए अनुसार व्यवसायीहरुले नियमित रुपमा तिर्नुपर्ने भाडाको बक्यौता हाल सम्म ४४ लाख रुपैयाँ रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

Facebook Comments Box