दमक/ २४ औं विश्व शरणार्थी दिवसको अवसर पारेर झापाको दमकस्थित भुटानी शरणार्थीहरुको बसोबास रहेको बेलडाँगी बस्ती व्यवस्थापन समितिले शान्ति र्यालीसहित विभिन्न कार्यक्रम गरेको छ ।
समितिको अगुवाईमा सो क्षेत्रमा क्रियाशील भुटानी शरणार्थी सम्बद्ध विभिन्न संघ संस्थाहरुले प्रदर्शन गर्दै स सम्मान स्वदेश फिर्तीको मागलाई सम्बोधन गर्न नेपाल, भुटान र संयुक्त राष्ट्र संघको समेत ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनपछि आयोजित औपचारिक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भुटानी शरणार्थीहरुले आफ्नो देश र माटोबाट खेदिनु परेको पीडा शब्दमा बयान गर्न नसकिने किसिमको भएको उल्लेख गरे ।

उनले भुटानी शरणार्थीहरु लाखौंको संख्यामा अन्य देश विस्थापित हुनुपरेको र हजारौंका संख्यामा अहिले पनि नेपालमै शरणागत जिवन बिताउनु परिरहेको बिषयले आफुलाई पीडाबोध हुने गरेको बताए ।
नगरपालिकाका तर्फबाट केही दिनपछि भुटानी शरणार्थी प्रतिनिधि मण्डललाई काठमाडौं लगेर जाने र स्वदेश फिर्तीको माग सम्बोधनका लागि नेपाल सरकारका उच्च निकायका अधिकारीहरुको ध्यानाकर्षण गराउन आफूले नेतृत्व लिने पनि नगर प्रमुख थापाको प्रतिबद्धता छ ।

बेलडाँगी बस्ती व्यवस्थापन समितिका अध्यक्ष सञ्चुहाङ सुब्बाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा पूर्व शिविर सचिव डीबि सुब्बाले भुटानी शरणार्थीहरुलाई एकताका युएनएचसीआरका नेपाल प्रमुखले समेत स्वदेश फर्काउने बिषयमा प्रतिबद्धता जनाएको स्मरण गर्दै सोको कार्यान्वयन गर्न सम्बन्धित निकायले इमान्दार बन्नुपर्ने माग गरे । उनले शिविरलाई हटाएर बस्ती व्यवस्थापन समिति बनाइनु, शरणार्थीहरुलाई दिइँदै आएको अनुदान सहयोग कटौती गर्नुले भुटानी शरणार्थीहरुको वास्तविक पहिचानलाई अन्यत्र मोडेर अपमान गर्न खोजिएको रुपमा लिन सकिने सुब्बाको भनाई छ ।
सो अवसरमा भुटानी शरणार्थी चार जनाले खेलकुद प्रतियोगिताको माध्यमबाट भुटानी शरणार्थीहरुको शिर उचो बनाउने काम गरेको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्रष्टा याम थुलुङ लगायत विभिन्न व्यक्तित्वहरुको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा आयोजक समितिकी उपसचिव आशा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

