कमल/ झापाको कमल गाउँपालिका भित्रका  सामुदायिक बिद्यालयहरु मध्ये एसईई परीक्षा २०८० मा कमला मदन आश्रित स्मृति माविले सर्वोत्कृष्ट नतिजा निकालेको छ ।
वडा नं २ स्थित कमला मदन आश्रितले पालिका भित्रका अन्य ९ वटा सामुदायिक बिद्यालयको तुलनामा उत्कृष्ट एसईई नतिजा निकाल्न सफल भएको हो ।
सो बिद्यालयबाट परीक्षामा सहभागी मध्ये ७० प्रतिशत बिद्यार्थी  उत्तीर्ण भएका छन् । कूल ३७ परीक्षार्थी मध्ये २६ जना उत्तीर्ण भएका गाउँपालिकाले जनाएको छ ।
सोपछि २ नम्बर वडामै रहेको ज्योती माविले राम्रो नतिजा निकालेको छ ।
ज्योती माविले ६६ प्रतिशत बिद्यार्थी एसईई उत्तीर्ण गराउन सफल भएको छ । ज्योती माविबाट सहभागी कूल २९ मध्ये १९ बिद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् ।
सोही प्रतिशतको हाराहारीमा सो वडाको महेन्द्ररत्न माविले पनि नतिजा निकालेको छ । महेन्द्ररत्न माविबाट सहभागी कूल ३४ मध्ये २२ जना अर्थात ६५ प्रतिशत बिद्यार्थी एसईई उत्तीर्ण भएका हुन् ।
वडा नं १ स्थित बाँसबारी माविबाट सहभागी कूल २० बिद्यार्थी मध्ये ६० प्रतिशत अर्थात १२ जना उत्तीर्ण भएका छन भने नरेन्द्र जनता माविबाट सहभागी २७ मध्ये १५ जना अर्थात ५६ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । वडा नं ३ स्थित सहिद धर्मभक्त माविबाट सहभागी कूल ४७ मध्ये २१ जना अर्थात ४५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । भने कमल ५ स्थित मंगलमय माविबाट सहभागी १४३ मध्ये ३३ जना अर्थात २२ प्रतिशत मात्रै बिद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन् । यो बिद्यालयको प्रधानाध्यापकका रुपमा लामो समयदेखि मोहन बगाले थापाले नेतृत्व सम्हाल्दै आएका छन् । बगाले कमल गाउँपालिका भित्रका शिक्षकहरुको नेतृत्व समेत गर्दै आएका नेता शिक्षक हुन् । उनी नेपाल शिक्षक महासंघ कमलका अध्यक्ष समेत हुन् ।
यो पालिकाको वडा नं ४ मा रहेको सरस्वती माविबाट संख्यामा सबैभन्दा कम अर्थात २ जना बिद्यार्थी मात्रै एसईई उत्तीर्ण भएका छन् । प्रतिशतका हिसाबले यो १३ प्रतिशत मात्रै हो । प्रतिशतका हिसाबले यो भन्दा कम तर संख्यात्मक हिसाबले ६ जना बिद्यार्थी मात्रै उत्तीर्ण गराउनेमा कमल ७ को सरस्वती मावि परेको छ । यो बिद्यालयबाट १० प्रतिशत मात्रै अर्थात सहभागी कूल ५९ मध्ये ६ जना मात्रै उत्तीर्ण भएका छन् ।
कमल ६ लखनपुरस्थित वाणी माविबाट पनि निकै कम प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।
वाणी माविबाट परीक्षामा सहभागी कूल ३४ बिद्यार्थी मध्ये ४ जना मात्रै अर्थात १२ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका हुन् ।
यो बिद्यालयमा प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले लामो समयदेखि प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
पछिल्लो करिब एक बर्ष यता भने सो बिद्यालयको नयाँ व्यवस्थापन समिति बनेसँगै प्रधानाध्यापक डाँगीले राजीनामा दिएका थिए तर उनको राजीनामापछि निमित्त प्रधानाध्यापक तेजप्रसाद भट्टराई बनेका थिए ।
भट्टराई र डाँगीको मिलेमतोमानै डाँगीले राजीनामा दिएका र बिद्यालय व्यवस्थापन समितिबाट प्रधानाध्यापक सिफारिस गरिएका अर्का एक शिक्षकलाई समेत प्रधानाध्यापक नस्विकार्ने शिक्षकहरुकै एक अर्को समुहको दबाब स्थानीय सरकारमा पुगेपछि पुनः डाँगीनै प्रधानाध्यापकको जिम्मेवारीमा छन् ।
उनी सो बिद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन गराउन नहुने अडान राखेर बिद्यालयको शैक्षिक गुणस्तर बिकासमा बाधक बन्ने गरेको आरोप छ ।

Facebook Comments Box