मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
एक महिनाअघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए । जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए । तर विश्वासको मत लिने समयमा केन्द्रमा गठबन्धन फेरिएको छ ।
गठबन्धन फेरिए पनि एमालेले विश्वासको मत दिने भएको छ । एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।
मधेशमा जनमतका १३सहित एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ गरी १०६ जना सांसद छन् । सरकार टिकाउन ५४ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।