दमक/ झापाको दमकमा प्रजनन क्षमता भएका सबै महिलाहरुलाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याइएको छ ।

उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम नाम दिइएको सो कार्यक्रमलाई लक्षित समुदाय सम्म पुरयाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक अभिमुखिकरण समेत प्रदान गरिएको हो ।

नगरका महिला स्वास्थ्य स्वंसेविकाहरु र स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको अभिमुखिकरणसँगै यो कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाइँले यो कार्यक्रम नगर भित्रका रजश्वला हुने गरेका महिलाहरुलाई लक्षित गरेर ल्याइएको बताए ।

नगर प्रमुख थापाले यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्रै लक्षित वर्ग समुदाय लाभान्वियत हुने बताए । प्रमुख थापाले महिलालाई मात्रै नभएर आम नगरबासीहरुको स्वास्थ्य सुविधालाई मध्यजर गर्दै सरकारी स्वास्थ्य सेवालाई वडा–वडा सम्म पुरयाउने तालिका बनाएरनै कार्यक्रमहरु ल्याइएको बताए । उनले हरेक महिना प्रत्येक वडामा एमबीबीएस डाक्टरसहित सुगर प्रेसर जाँच गर्ने सम्बन्धिको केएचडीसि कार्यक्रम पनि ल्याइएको बताए ।

नयाँ आर्थिक बर्षसँगै नगरले वडा वडा तहबाटै सञ्चालन गर्ने गरि महत्वपूर्ण योजना तथा कार्यक्रमहरु ल्याएको फेहरिस्त पनि राखेका छन् ।

नगर उपप्रमुख भट्टराईले देशभरका धेरै पालिकाहरुले गरेका राम्रा अभ्यासहरुबारे जानकारी लिने क्रममा यो कार्यक्रम पश्चीम नेपालको एक नगरपालिकामा रहेको पाइएकाले सो बारे अधिकतम जानकारी र अनुसन्धान पश्चात मात्रै दमकमा यो कार्यक्रम ल्याइएको बताइन् । उनले झापा जिल्लामा आम महिलालाई लक्षित गरेर ल्याइएको यो कार्यक्रमनै पहिलो हुने दाबी पनि गरिन् ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले प्रत्येक वडा वडामा रहेका स्वास्थ्य केन्द्रहरु मार्फत सम्बन्धित वडाका महिलाहरुले रजश्वला भएको समयमा आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क लिन पाउने जानकारी दिए । उनले यसबारे सम्बन्धित स्वास्थ्य केन्द्रहरुमा प्रजनन क्षमता भएका र प्रजननको अवस्थाबारे अभिलेख राख्न र सोही अनुसारका कार्यक्रमहरु ल्याउन पनि मद्धत गर्ने बताए ।

सो कार्यक्रममा दमक नगर कार्यपालिका सदस्य ख्यामकुमारी परियार सरु, न्यायिक समिति सदस्य शोभा बेल्बाँसे लगायतको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments Box