दमक/ नेकपा एमाले झापाको इन्चार्जमा रोम ओलीले जिम्मेवारी पाएका छन् । एमाले केन्द्रिय सदस्य समेत रहेका दमक नगरपालिकाका पूर्व मेयर ओलीलाई आज बसेको एमालेको सचिवालय बैठकले सो जिम्मेवारी दिएको हो । ओली दमक ५ का स्थायीबासिन्दा हुन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७९ को निर्वाचन अघि सम्म काठमाडौंबाट झापा आउँदा पूर्व मेयर ओलीको निवासमा नै बस्ने गरेका थिए ।
ओलीसँगै पार्टीको जिल्ला इञ्चार्जका लागि पार्टी केन्द्रिय सदस्य एवं यसअघि दुई पटक सम्म संविधान सभा सदस्यमा झापा ६ बाट निर्वाचित भएका नेता दिपक कार्की र नेता रविन कोइराला पनि पार्टी भित्रको आन्तरिक लबिङमा थिए ।
यसअघि एमाले झापाको इञ्चार्जका रुपमा पोलिटब्युरो सदस्य विशाल भट्टराई र अग्नी खरेलले पनि जिम्मेवारी सम्हालेका थिए । पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र समेत झापा भएकाले यहाँको इञ्चार्जको जिम्मेवारीलाई एमाले वृत्तमा निक्कै महत्वसाथ हेरिन्छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मोरङको इन्चार्जमा पोलिटव्यूरो सदस्य जीवन घिमिरे चयन भएका छन् । घिमिरे नेकपा एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा थिए । उनी २०७९ को निर्वाचन ताका एमालेले प्रदेश सभा सदस्यमा उम्मेद्वारीको टिकट दिएपछि एमालेमा फर्किएका नेता हुन् । प्रदेश सरकारको सामाजिक बिकास मन्त्री भइसकेका नेता घिमिरे झापाकै धरमपुरका पुराना बासिन्दा हुन् ।