दमक/ झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्यामा किटानी जाहेरी परेका बुद्धिबहादुर थापाको नाम किटानी गर्न नहुने आरोपित पक्षको अडानका कारण हत्या अनुसन्धान प्रभावित हुन सक्ने परिवारले शंका गरेका छन् ।
पाँच दिन अघि दमक ३ को मावा पुल नजिकै जग्गा विवादमा हत्या गरिएका निरौलाको परिवारबाट किटानी जाहेरी परेका थापाका सहोदर भाई एमाले नेता गोविन्द थापाले हत्याका आरोपीहरुलाई नसमात्न प्रहरीका उच्च अधिकारीहरुलाई दबाब दिइरहेका र आफूहरुलाई समेत त्यस्तै किसिमका दबाबपूर्ण र होच्याउने अभिव्यक्तिहरु दिएका कारण हत्या अनुसन्धान प्रभावित हुने शंका बढेको निरौला परिवारको भनाई छ ।
मृतकका दाजुले आरोपित थापा दाजुभाई नचिन्दा……..
मंगलबार दिउँसो भएको सो घट्नापछि एमाले नेता थापाले बुधबार निरौला परिवारले किटानी जाहेरी दर्ताका लागि इलाका प्रहरी कार्यालय दमकमा तयारी गरिरहँदा प्रहरी कार्यालयमा पुगेर प्रहरी अधिकारीहरुसँग केही मिनेट कुराकानी गरेका थिए ।
सो क्रममा उनले मृतक निरौलाका दाजु नवराज निरौलालाई डिएसपी र जिल्लास्थित प्रहरी प्रमुखसँग आफ्नै फोनमा बोल्न दिएका थिए ।
निरौलाले गोविन्द थापासँगको संवादबारे यसो भने–
गोविन्द थापा मैंले चिनेको थिएँ तर उहाँ आरोपित बुद्धिमानको भाई हो भन्ने मलाई थाह थिएन हाम्र्रै न्यायका लागि कुरा गरिरहेको होला भन्ने सम्भिएँ पछि पो थाहा भयो गोविन्द त बुद्धिमानकै भाई पो रहेछन् ।
त्यसबेला जिल्लाको एसपी साबसँग बोल्नु भनेका थिए म बोलेको उताबाट पनि बुद्धिमानको र नम चेम्जोङको नाम नहाली जाहेरी दिनु भन्नु भयो ।
म छक्क परें । हामी थानातिरै व्यस्त भइयौं । भरे फेरी गोविन्दले फोनमा बुझ्नु भयो नि कुरा बुद्धिमानको नाम नहाल्नु भन्नु भयो । मैंले प्रतिवाद गरें ।
कसरी त्यस्तो हुन्छ । बुद्धिमानकै कारण यो सबै घट्ना भएको भन्ने हामीले बुझेका छौं भनेपछि उहाँले यस्तो केस (घट्ना) हाम्रा लागि एउटा झिंगो मरे जति पनि होइन । मैंले भनेको मान्ने भए मृतकका छोराछोरीलाई पढ्ने व्यवस्था मिलाउँछौं, उहाँको श्रीमतीलाई पनि कतै सेटल गर्छौंै मान्नु हुन्न भने हामीलाई केही फरक पर्दैन ।
नेता थापाकै जग्गा विवादमा निरौलाको ज्यान गएको र थापा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट विश्वास पात्र समेत भएकाले पहुँचका आधारमा यो घट्नालाई सामसुम पार्न सक्ने अडकलबाजी चलिरहेको छ । सोही कारण दिनहुँ प्रहरी प्रशासनलाई दबाब सिर्जना गर्न निरौलाका परिवार, आफन्त र शुभचिन्तकहरु इलाका प्रहरी अगाडी प्रदर्शनमा उत्रिँदै आएका छन् । सो क्रममा शनिबार दिउँसो भने आक्रोशित एक समुहले इलाका प्रहरी कार्यालय दमकको गेटकै अगाडी टायर बालेर चर्को नाराबाजी समेत गरे ।
घट्नाको पाँचो दिन वितेपनि घट्नामा संलग्नताको आरोप लागेका मुख्य आरोपीहरु पक्राउ पर्न सकेका छैनन् ।
थप दुई जना अनुसन्धानमा तानिँदै
यसैबीच निरौला हत्या प्रकरणमा यसअघि किटानी जाहेरी परेका ७ जना बाहेक थप दुई जना पनि प्रहरी अनुसन्धानको घेरामा परेको खुलेको छ । घट्नास्थलमा पुगेका दुई वडा गाडी मध्ये एक जना भिमराज केसीको र अर्को गोपाल भण्डारीको भएका बुझिएको छ । उनीहरु दुवै जना अनुसन्धानको घेरामा परेका र प्रहरीले उनीहरुको खोजी गरिरहेको बताइएको छ ।
घट्नासँग जोडिएका उर्लाबारी ६ का प्रकाश कार्की र उर्लाबारी ७ का ध्रुव गौतमबाहेक मुख्य आरोपीहरु पक्राउ पर्न सकेका छैनन ।
निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका बुद्धिमान थापा , नमकुमार चेम्जोङ र इटहरी बस्ने भनिएका डेबिट घले विरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी परिसकेको छ ।
चेम्जोङ बाहेकका ६ जना विरुद्ध घट्नाको दोश्रो दिन बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको हो भने चेम्जोङका विरुद्ध बिहिबार मात्रै सोही कार्यालयमा पुरक किटानी जाहेरी दर्ता भएको हो ।
थापाकै दबाबका कारण अहिले सम्म जिल्ला प्रहरी कार्यालय झापाले घट्नाबारे औपचारिक रुपमा केही सार्वजनिक नगरेको हुन सक्ने अनुमान छ ।
पाँचौं दिन यस्तो भयो
निरौलाको हत्या प्रकरणमा जोडिएका सबैलाई राजनीतिक दबाब र प्रभाब मुक्त भएर कारवाहीको दायरामा ल्याउन माग गर्दै शुरु भएको बिरोध प्रदर्शन पाँचौं दिन अझ बृहत बन्यो ।
निरौला हत्यामा संलग्न मुख्य आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दा पाँचौ दिन सम्म पनि निरन्तर प्रदर्शन भएको हो ।
इलाका प्रहरी कार्यालय दमक अगाडी हत्यारालाई कारवाही गर, मान्छे मार्न पाइदैन , यस्तो डिएसपी चाहिदैन जस्ता नारा चर्काे रूपमा लागे । प्रदर्शनकारीहरुले प्रहरी कार्यालय गेट अगाडीनै टायर बालेर प्रदर्शन गरेका छ्न । कार्यलय भित्र डिएसपी निशान थापाले दमक नगर प्रमुख राम थापा , उपप्रमुख रेगिना भट्टराई , वडाध्यक्षहरु भिम पौडेल, कुबेर भट्टराई लगायत मृतक परिवारका प्रतिनिधिसँग प्रहरी अनुसन्धानमा भइरहेको प्रगतिबारेमा जानकारी गराएका बताइएको छ ।
डिएसपी थापासगको छलफलबाट बाहिर निस्किएका वडाध्यक्ष पौडेलले प्रहरी अनुसन्धानलाई दबाब र प्रभाब मुक्त भएर अघि बढाउन सुझाइएको जानकारी दिए । सो प्रकरणमा जोडिएका दमकका बुद्धिमान थापा र नम चेम्जोङको नाम किटानी जाहेरीबाट हटाउनुपर्ने दबाब थापाका सहोदर भाइ गोबिन्द थापाले मृतक निरौला परिवारलाई दिएका कारण प्रहरीको भुमिकामाथी आशङ्का बढिरहेको छ ।
मृतकका दाजु नवराजले बरु भाईको हड्डी मात्रै उठाउने तर हत्यारा नसमाते सम्म निरौलाको शब नबुझ्ने अडान लिइरहेका छ्न ।