झापा/ सवारी दुर्घटनामा परी झापामा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।मृत्यु हुनेमा शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्का र झापा गाउँपालिका ४० वर्षीय कमनसिंह लिङ्खाका ७ वर्षीय छोरा अस्मिन लिङ्खा रहेको जिल्ला प्रहरी कार्यालय झापो जनाएको छ । प्रहरीका अनुसार गत कात्तिक १६ गते साँझ ६।१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान अन्दाजी ५बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका – ३ सोगुम बस्ने ४३ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।

त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि आज बिहान मृत्यु भएको छ । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको १५० मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो ।
दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा आज बिहान ५ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका ४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणामति हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजितकुमार गणेश सकुशल रहेका छन् । प्रहरी चौकी शरणामतिले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए ।

Facebook Comments Box