दमक/ डेढ अर्ब रुपैयाँको सरकारी लगानीमा दमक नगरपालिका वडा नं ३ ढुकुरपानी नजिकै बनेको प्रस्तावित विजनेश कम्प्लेक्स अर्थात भ्यु टावर उद्घाटनको अघिल्लो साँझ सिंगारिएको छ ।
भ्यू टावरसँगै आसपासको क्षेत्र सरसफाईसहित सिंगारेर आकर्षक बनाइएको छ । भ्यू टावर सजावटको दृश्य यतिबेला सामाजिक सञ्जालहरुमा बाक्लै देखिन्छ ।
सिंगारिएको भ्यू टावरको तस्विर राखेर यसको उदघाटन हुने सूचना सामग्री धमाधम अपडेट भइरहेका छन् । दमक ३ का वडाध्यक्ष नबिन बराल ३ नम्बर वडाको भुगोलमा बनेको भ्यू टावर नेपालकै अमुल्य सम्पत्ती भएको र सिंगो दमक नगरको शान भएकाले यो विजनेश टावर उदघाटनको पूर्व सन्धयामा वडाबासीहरु हर्षित भएको बताउँछन् ।
यति ठुलो बिकासको योजना शुरु हुँदा उत्साहित रहेको दमक यसको उदघाटनको सन्मुखमा आउनु सबैका लागि खुशी र गर्वको बिषय हो – वडाध्यक्ष बरालले भने ।
२०७४ सालदेखि निरन्तर सो वडाको नेतृत्व गर्दै आएका वडाध्यक्ष बराल यस क्षेत्रको व्यवसायिक र पर्यटन बिकासमा यसले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास लिइएको बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पाँच बर्ष अघिदेखि निर्माण भइरहेको यो टावर उदघाटनका लागि प्रधानमन्त्री ओली आइतबार दमक आउँदैछन् ।
प्रधानमन्त्री ओली दोश्रो पटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा निर्माण सम्पन्न गर्ने गरी यो टावर निर्माणको ठेक्का लगाइएको थियो ।
पाँच बर्षदेखि राजनीतिक राजनीतिक घोचपेचको मुद्धा बनेको टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएका थिए । यो भ्युटावर निर्माण नेपाल सरकारको सहरी विकास मन्त्रालय मातहतको योजना हो ।
सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिनेगरी विकास समिति (गठन) आदेश जारी गरेसँगै टावर उदघाटनको तयारी भएको हो ।
कतिपय विश्लेषक र राजनीतिक नेतृत्वले भ्युटावर निर्माणको शुरुवातदेखिनै यो योजनाको सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए । विशेष गरी नेकपा एमाले इतरका सबै राजनीतिक दलहरुले यहाँका चुनाव तथा बिकासे योजनाका सन्दर्भमा बहस हुँदा यो बिषयलाई नकारात्मक कोणबाट टिका टिप्पणी पनि गर्दै आएका थिए । कसैले यसलाई भ्यू टावरको उपयोग विभिन्न काममा गर्न सकिने पनि सञ्चारमाध्यमहरु र भाषण मार्फत सुझाउँदै आएका थिए ।
बदलिएको राजनीतिक समिकरणसँगै प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस सत्ता सहकार्यमा अघि बढेपछि यसले फरक मोड लिएको अनुमान राजनीतिक वृत्तमा भइरहेको छ । शहरी बिकास मन्त्रालय अन्तर्गतको यो योजनाको उदघाटन कार्यक्रमको प्रचार प्रसारमा पनि कांग्रेस एमालेको स्थानीय नेतृत्वबीच सहकार्य भइरहेको बुझिएको छ । संयोग शहरी बिकास मन्त्रालय अहिले नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री प्रकाशमान सिंहले सम्हालिरहेका छन् ।
सोही हैसियतले उद्घाटन कार्यक्रमको अध्यक्षता मन्त्री सिंहले गर्ने र प्रमुख अतिथीका रुपमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आउँदैछन् ।