विराटनगर/ कोशी प्रदेशका पूर्वमन्त्री तथा कोशी प्रदेश सभा सदस्य एवं कांग्रेस नेता रामकुमार खत्रीले आफ्नो विहेमा गरिने फजुल खर्च वापतको रकम बृद्धाश्रममा सहयोग गर्ने घोषणा गरेका छन् । उनले बुधबार अन्तरजातीय विवाह गरेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । गुरुङ राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् ।
काठमाडौंमा सामान्य ढंगले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए । उनको बुधबार विवाह भएको हो । खत्री कोशी प्रदेशको पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री हुन् ।
‘विवाह दुई परिवारको आफन्तमात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’ खत्री काँग्रेसका नेता पनि हुन् ।