धरान/ धरान ६ स्थित पाँचकन्या सामुदायिक बनमा गत चैत्र २५ गते सोमबार आफन्तबाटै हत्या गरिएकी ४० वर्षीया चुनु कुमारी दाहाल बुढाथोकीको हत्या आरोपमा ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीले बिहिबार धरानमा पत्रकार सम्मेलन गरी घट्नामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो ।
धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
एसपी तिम्सिनाका अनुसार घटनामा संलग्न मध्ये उनका देवर इकेन्द्र बुढाथोकी, देउरानी सृष्टी बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाललाई गत चैत २१ गते निजहरुको घरबाट पक्राउ गरिएको हो । यसैगरी, योगेन्द्र गौतमलाई चैत ३० गते नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको उनले बताए ।
घटनाका मुख्य योजनाकार मृतकका पति प्रेम बुढाथोकीलाई घर परिवारसँगको समन्वयमा कोरियाबाट नेपाल झिकाएर बैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्का एक भारतिय नागरिक राजु थापा भने फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको १५० सिसिको पल्सार मोटरसाईकल थान–१, मधेश प्रदेश ०३–०२६ प ७१४४ नम्बरको आर टी आर मोटरसाईकल थान–१ र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको एफ जेट भि टु मोटरसाईकल थान–१ बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको मुख्य कारण श्रीमान श्रीमती बिचको मनमुटाव र आर्थिक प्रलोभन रहेको प्रहरीले जनाएको छ । हत्यापछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए । चुनुकुमारीको शव गोठालो गएकाहरुले जंगल भित्र लसुनेको रुखमुनि देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शुरुमा उनको हत्याका कारणबारे अनेक अडकलबाजीहरु भए पनि प्रहरी अनुसन्धानबाट भने आफन्तहरुलेनै पारिवारिक विवादमा चुनुकुमारीका पति प्रेम दाहालको योजना अनुसार उनको हत्या गरेको खुलन आएको हो ।