दमक/ नेपाली कांग्रेसले झापाको संघीय निर्वाचन क्षेत्रस्तरमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार सिफारिसले कांग्रेसवृत्तमा हलचल पैदा गराएको छ ।
विशेष गरी उम्मेदवारको सिफारिसका बिषयलाई लिएर मातहतका निकायलाई पार्टी केन्द्रले जारी गरेको परिपत्र र पछिल्लो समय कांग्रेस वृत्तमा चलेको पुस्ताहस्तान्तरण को भावना विपरित क्षेत्रीय समितिहरु र जिल्ला समिति समेतले उम्मेदवारहरुको सिफारिस गरेको पाइन्छ ।

परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट प्रत्यक्ष तर्फ बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।
उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रले तोकेको यो सर्कुलर विपरित कतिपय संघीय निर्वाचन क्षेत्रस्तरका समितिहरुले जिल्ला तहमा र जिल्ला तहले प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरेका पाइएको छ ।

क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको सिफारिस मंसिर २६ गतेभित्र प्रदेशमा पठाइसक्नु पर्ने भएकाले २५ मसिंरमा नै जिल्ला समितिले कोशी प्रदेश समितिमा नाम सिफारिस गरेको हो । प्रदेश कार्यसमितिले मंसिर मसान्तभित्र केन्द्रमा नाम पठाइसक्नु पर्नेछ ।
कांग्रेसले उम्मेदवार चयनमा यसपटक २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका व्यक्तिहरूलाई समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने गरिको व्यवस्था गरेपछि संसदीय फाँटमा आफूलाई स्थापित गर्दै गरेका पार्टी नेतृत्वहरु यसपटक उम्मेदवार बन्नबाट बञ्चीत छन् ।

यससँगै २०७९ को बन्दसूचीमा नाम समावेश भएका तर निर्वाचित नभएकाहरूलाई पनि यस पटक समानुपातिकमा सिफारिस नगर्ने, २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने, पार्टीको विधान अनुसार तोकिएको लेबी (सहयोग रकम) नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने, जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विसंगतिमा दोषी ठहरिएका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने र एउटै व्यक्तिलाई प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी एकभन्दा बढी पदमा सिफारिस गर्न नपाइने पनि परिपत्रमा स्पष्ट पारिएको छ ।

पुरानै अनुहारलाई प्राथमिकता

कांग्रेसमा दोश्रो, तेस्रो पुस्ता मानिने नेताहरुले यसपटक पुस्तान्तरणको बहस चलाइरहँदा पार्टीका क्षेत्रीय समितिहरुले भने बर्षौदेखि पार्टीबाट टिकट लिएर पनि चुनाव जित्न नसकिरहेकाहरुलाई उम्मेदवारका रुपमा दोहोरयाई तेहरयाई सिफारिस गरेका छन् भने यस अघि २०७९ मा सांसद बनेर मन्त्री समेत भइसकेकाहरुको नाम पनि मापदण्ड विपरित उम्मेदवारको रुपमा सिफारिस भएको पाइन्छ । राष्टिय सभा सदस्यका रुपमा समेत प्रतिनिधित्व गर्दै आएकी नेतृ सरिता प्रसाइँ क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएकी छिन् । उनीसँगै छत्रबहादुर गिरी र सजेश शिवाकोटीको पनि नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।

कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवे आफ्नो निर्वाचन क्षेत्र झापा ४ बाट यसपटक पनि उम्मेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रबाट २०७४ र २०७९ का दुवै निर्वाचनमा टिकट पाएका थेवेले चुनाव जित्न सकेनन् । त्यस अघिका चुनावमा सो क्षेत्रबाट कांग्रेस नेताहरु स्वर्गीय केशवकुमार बुढाथोकी र चक्रप्रसाद बास्तोला निर्वाचित भएर मन्त्री समेत भएका थिए ।

तर थेवे जिल्ला सभापतिको भुमिकामा रहेर पनि पराजित हुँदै आएका छन् । यसपटक पनि थेवे उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट बैगुन्धुराका पुराना बासिन्दा हाल विराटनगर बस्दै आएका जिपी फाउण्डेशनका अध्यक्ष समेत रहेका उत्तम चौलागाइँ र धनमाया चिमरियाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ । कांग्रेस झापाले समानुपातिक तर्फ क्षेत्र नं ५ बाट दुई पटक सांसद बनिसकेकी नेतृ महेन्द्रकुमारी लिम्बुको नाम पुन समानुपातिक तर्फ सिफारिस गरेको छ । दमककी स्थायीबासिन्दा लिम्बु कांग्रेस केन्द्रिय सदस्य पनि हुन् । त्यस्ता उम्मेदवारहरु लिएर कांग्रेस चुनावमा जादा चुनावको परिणाम राम्रो आउन नसक्ने भन्दै कांग्रेस वृत्तमानै भित्र भित्रै चर्चा हुन थालेको छ ।

क्षेत्र नं ५ बाट प्रत्यक्षमै सात जना सिफारिस
कांग्रेस झापा क्षेत्र नं ५ को क्षेत्रीय समितिले पार्टीले तोकेको मापदण्ड विपरित सात जना उम्मेदवारको नाम प्रत्यक्ष सिफारिस गरेको छ भने जिल्ला समितिले पनि सोही नामावली प्रदेश समितिमा पठाएको छ ।
तोकिएको अधिकतम तीन जना भन्दा धेरै उम्मेदवार सर्वसम्मत चयन हुन नसके निर्वाचनको विधिबाट भए पनि सिफारिस गर्नुपर्नेमा क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारहरुको सूचीको पहिलो नम्बरमा अइन्द्र केरुङ , दोश्रोमा पदम पौडेल, तेस्रोमा मन्धरा चिमरिया पौडेल, चौथोमा मेदनी प्रसाद सिटौला , पाँचौमा देवीप्रसाद दाहाल, छैठौंमा डा.खगेन्द्र पाण्डव अधिकारी र सातौमा सेरोम कार्की रहेका छन् ।
सिफारिसमा परेकाहरु मध्ये केरुङ बिद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । दमक १ का स्थायीबासिन्दा उनी दमक बहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेका छन भने पार्टीमा हाल महासमिति सदस्य छन् ।

त्यस्तै सिफारिसमा परेका सिटौला, नेविसंघ, नेपाल तरुण दल समेतको केन्द्रीय राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय युवा नेता हुन् । दमक ९ का स्थायीबासिन्दा सिटौला पनि हाल पार्टीको महासमिति सदस्य छन् ।

प्रत्यक्ष तर्फ सिफारिसमा परेकी एक मात्र महिला उम्मेदवार चिमरिया (पौडेल) महिला नेतृ हुन् । पार्टी महासमिति सदस्य समेत रहेकी पौडेल लोकतान्त्रिक आन्दोलनसँगै महिला अधिकारको आन्दोलनमा सक्रिय र जुझारु नेतृ हुन् । उनी राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष, जनचेतना महिला संघकी संस्थापक अध्यक्ष समेत हुन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनकै नेतृत्वमा दमकमा असहाय बालबालिकाहरुको संरक्षणका लागि बाल आश्रम समेत सञ्चालनमा छ ।

समानुपातिकमा झन धेरै
झापाको क्षेत्र नं ५ बाट समानुपातिक तर्फ पूर्व सांसद समेत कूल १३ जनाको नाम उम्मेदवार सिफारिस गरेको पाइएको छ ।
जिल्ला समितिले आज प्रदेश समितिमा सिफारिस गरेका क्षेत्र नं ५ का नामहरुको सूचीको पहिलो नम्बरमा पूर्व सांसद एवं नेतृ महेन्द्रकुमारी लिम्बुको छ ।
दमककी स्थायीबासिन्दा उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य र दुई पटक सम्म समानुपातिक कोटामा सांसद बनिसकेकी नेतृ हुन् ।
सो क्षेत्रबाट समानुपातिकमानै सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भुमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती र रोहितकुमार साह रहेका छन् ।

 

Facebook Comments Box