दमक/ पूर्वमा आदिमकालदेखि बसोबास गर्दै आएका लोपोन्मुख धिमाल जातिको मौलिक खानेकुराहरु संरक्षण तथा प्रवद्र्धन गर्न दमकमा चिचिरी गेन्द्रो दिवस मनाएने भएको छ । यही माघ २५ र २६ गते फुड फेस्टीबल आयोजना गर्दै धिमाल जातीय विकास केन्द्रले आफनो मौलिक खानेकुराहरुको वजार प्रवद्र्धन गर्न लागेको हो । दमक ४ का वडा सदस्य समेत रहेका सो केन्द्रका सचिवालय सदस्य मणिराज धिमालले धिमालहरुको मौलिक खानाको प्रवद्र्धनका लागि त्यस किसिमको फेस्टीबल पहिलो पटक आयोजना गर्न लागिएको बताए ।
दमकस्थित पूर्व वसपार्क क्षेत्रमा भव्य रुपले दिवसका रुपमा नै चिचिरी मनाउने भएको हो । खानपीनसंगै आफनो सांस्कृतिक पहिचान गराउनका लागि दिवस मनाउन धिमाल नेतृ शान्तिदेवी धिमालको संयोजकत्वमा ९ सदस्यीय गेन्द्रो दिवस विशेष कार्यक्रम आयोजक समितिले आवश्यक तयारी तथा व्यवस्थापन गरिरहेको छ ।
केन्द्रको हालै सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट निर्वाचित समितिले पहिलोपटकनै त्यस किसिमको ऐतिहासिक कार्यक्रम गर्न लागेको हो ।
सो दिवस मनाउन आवश्यक तयारी तीव्र पारिएको केन्द्रका सदस्य अजित धिमालले जानकारी दिए । दिवसमा धिमालका खानपानका परिकारहरुको प्रदर्शनी समेत राखिने जनाइएको छ । विशेषगरि धिमालका मौलिक परिकारहरु घोंगि,बागिया,कुरुङ,पायाको विहा, कियाकमे विहा,घेन्सिङ गोरा,च्वाइका गोरा लगायतको भोजनको पनि स्वाद लिन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । धिमाल जाती दमक नगरपालिकामा बसोबास गर्ने पहिलो नागरिक भएको भन्दै सम्मान स्वरुप स्थानीय सरकारले धिमालहरुलाई पहिलो नागरिक घोषणा गरिसकेको छ ।

Facebook Comments