दमक/ कोरोना संक्रमणका बाबजुद दमकमा नयाँ व्यवसायिक फर्महरु थपिने क्रम बढेको छ । पछिल्लो समय थपिएका व्यवसायीहरुमा महिलाको संख्या उच्च छ ।
दमक उद्योग वाणिज्य संघको तथ्याङक अनुसार कोरोना संक्रमणका बीच चालू आर्थिक बर्ष २०७७/०७८ को ८ महिनाको अवधिमा मात्रै १४० वटा नयाँ व्यवसायिक फर्म दर्ता भएका छन ।

संघका अध्यक्ष गोकूल श्रेष्ठले यो संख्या संघमा आवद्ध भएका व्यवसायिक फर्मको संख्या मात्रै भएको र यसबाहेक तत्काल संघमा आवद्ध भई नसकेका र प्रकृयामा रहेका व्यवसायिक फर्मको संख्या पनि उत्तिकै रहेको बताए । श्रेष्ठका अनुसार थपिएका नयाँ व्यवसायीहरुमा महिलाको संख्या ७५ प्रतिशत छ । कानुनी रुपमै सम्पत्तीमा महिलाको स्वामित्व बढदै गएको तथ्य यसबाट प्रस्ट भएको अध्यक्ष श्रेष्ठको बुझाई छ । नीतिगत रुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तिय संस्थाहरुको नीतिका कारण पनि व्यवसायिक फर्महरु महिलाको नाममा सञ्चालन हुने क्रम बढेको हुन सक्ने श्रेष्ठ बताउँछन ।
होटल तथा खाजा घरसंगै फेन्सी तथा कस्मेटिक आइटम, किराना लगायतका व्यवसायहरु थपिएका संघका कर्मचारी प्रकाश दाहाल बताउँछन । उनका अनुसार चालू बर्ष संघका सदस्यका रुपमा रहेका कूल ६२४ वटा व्यवसायिक फर्महरु नविकरण भएका छन । संघले १४० नयाँ फर्म दर्ता बापत कूल १ लाख २५ हजार रुपैयाँ शुल्क प्राप्त गरेको छ भने ६२४ वटा फर्म नविकरण वापत कूल २ लाख २४ हजार रुपैयाँ शुल्क उठेको छ ।


बिलम्ब शुल्कमा छुट
विश्वभर फैलिएको कोरोना महामारीका कारण नोक्सानी ब्यहोरेका व्यवसायीहरुलाई राज्यले दिने सेवा सुविधा राज्यकै नीतिमा निर्भर रहने भएपनि संघले आफना सदस्यहरुलाई नविकरण शुल्कमा छुट दिएको छ । संघले कोरोना महामारीको कारण गत पुष मसान्त भित्र सदस्यता नविकरण गर्न आउने सदस्यलाई बिलम्ब शुल्क नलिएको संघको कार्यालयले जनाएको छ । संघले आगामी असार मसान्त भित्र सदस्यता नविकरण गर्ने व्यवसायीहरुलाई ५० प्रतिशत छुट गरेको छ । अहिले सम्म व्यवसायीहरुलाई संघले लिने विभिन्न किसिमका शुल्कमा छुट दिइएको कूल रकम १ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।

Facebook Comments Box