दमक/ दमक–ताप्लेजुङ सम्पर्क मञ्चको आज बसेको बैठकले ताप्लेजुङको दोभानमा भएको आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै पीडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्पर्क मञ्चका अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षतामा आज दमक ७ मा बसेको बैठकले आगलागी पीडितहरुलाई बढीमा पाँच दिन भित्रमा अधिकतम नगद राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।


बैठकले सोका लागि केन्द्र प्रसाइँको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गर्ने पनि निर्णय गरेको मञ्चका सचिव मोहन बगालेले जानकारी दिए । समितिका सदस्यहरुमा तारा अधिकारी, कुमार साम्सोहाङ, हिमालय दाहाल, गोपाल गुरागाइँ, विजय बराल, शान्ता तामाङ , पवित्रा तामाङ र सुमित्रा प्रसाइँ रहेका छन । समितिले ताप्लेजुङ पुख्र्यौली घर भई हाल दमकमा बसोबास गर्दै आएका तथा अन्य सहयोगीहरुसंग सम्पर्क गरी अधिकतम नगद सहयोग जुटाएर पाँच दिन भित्र पीडितलाई उपलब्ध गराउने निर्णय भएको छ । सोका लागि प्रचार प्रसारको जिम्मेवारी विष्णु पौडेललाई दिने र अन्य सहयोग गर्न इच्छुक संघ संस्थाहरुसंग समन्वयका लागि गोपाल गुरागाइँलाई जिम्मेवारी तोकिएको छ ।


बैठकले संस्थाको कोषाध्यक्षमा शान्ता तामाङलाई मनोनित गर्ने निर्णय पनि गरेको छ । संस्थाले तत्कालका लागि मेची सहकारी संस्थामा सम्पर्क मञ्चको नाममा खाता खोलेर सोही मार्फत कारोबार गर्ने पनि नर्णय भएको छ । अध्यक्ष पौडेलका अनुसार छिट्टै नगरमा बसोबास गर्ने ताप्लेजुङ पुख्र्यौली घर भएकाहरुको बृहत भेला गरेर संस्थाको कार्यसमिति विस्तार गर्नुका साथै सामाजिक गतिबिधिहरु सञ्चालन गरिनेछ ।
चार दिन अघि ताप्लेजुङको दोभानमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।
आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको जनाइएको छ । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

Facebook Comments Box