आफनो लागि त सबैले  गर्छन नि तर समाजका लागि केही न केही योगदान दिनुपर्छ भन्ने मान्यता राख्छन इलाम चुलाचुली २ का युवा सामाजिक तथा राजनीतिक व्यक्तित्व निरोज केदेम लिम्बु ।  जिवनमा जतिसुकै उपलब्धी हात पारे पनि आफनो ठाउँ र समाजका लागि योगदान गर्न सकिएन भने सबै ब्यर्थ हुने उनको बुझाई छ । युवा उमेरमा नै सामाजिक क्षेत्रमा उनले चालिरहेका कदम त्यसैका उपज हुन ।

समृद्ध चुलाचुली निर्माणको उद्धेश्य राखेर युवाहरुलाई रचनात्मक काममा प्रेरित गरिरहेका उनले स्थानीय फुटबल क्लबलाई खेलकुद सामग्री प्रदान गरेका छन ।  चुलाचुली २ मा अघिल्लो बर्षको चासोक तङनाम विशेष कार्यक्रम उनकै नेतृत्वमा सम्पन्न भएको थियो । त्यस्तै जनता मावि का खेलकुदका लागि पोशाक तथा खेल सामग्री प्रदान गरेका छन भने बिकास निर्माणका हरेक गतिबिधिहरुमा समेत युवा पुस्तालाई खबरदारीका लागि सधैं जागरुक बनाउने गरेका छन ।

सो बिद्यालयको स्वर्ण महोत्सव समारोहमा समेत उनले नगद सहयोग प्रदान गरेर प्रशंसाको पात्र बने । चुलाचुली २ मा नेपाली कांग्रेसको कृयाशील सदस्य रहेका उनले राजनीतिक रुपमा अन्य दलका नेतृत्व र स्थानीय तहका गतिबिधिहरुमा समेत समन्वयात्मक भुमिका निर्वाह गर्दै आएका छन ।  शैक्षिक, खेलकुद र बिकासका अन्य सबै क्षेत्रमा उनको सक्रियता प्रशंसनिय छ ।    दमक १ मा समेत बसोबास गर्ने गरेका कारण उनले दमक अस्पताल सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहेर यसलाई पुनर्जिवन दिने काममा लागेका थिए । उनी सो अस्पतालको पहिलो सञ्चालक समिति सदस्य हुन । त्यसैगरी हिमाली मार्ग अन्तर्गत चुलाचुली खण्डको निर्माण तथा उपभोक्ता समिति सचिवका रुपमा रहेर सो योजनाको कार्यान्वयनमा सक्रिय भुमिका निर्वाह गरिसकेका केदेम दमक – १ स्थित प्रगतिशील युवा तथा सामाजिक विकास संघका समेत अध्यक्ष भइसकेका छन । दमकमा रवि स्टेण्ड निर्माण समिति सचिव, चुलाचुलीमा किराँतीहरुको पहिलो राजा यलम्बरको सालिक निर्माण आर्थिक समिति संयोजक , श्री अन्तु मेमोरियल बोर्डिङ स्कूलको संस्थापक हुन ।

यस्तो छ पारिवारिक र पृष्ठभुमी

केदेमको परिवारमा पूर्ण रुपले शैक्षिक वातावरण थियो । बुबा स्व.विश्वबन्धन केदेम र आमा लक्ष्मी राई केदेम दुवै जना शिक्षण पेशामा । बुबा स्व. विश्वबन्धन चुलाचुलीस्थित जनता माविमा प्रधानाध्यापकको रुपमा लामो समय कार्यरत थिए । प्रधानाध्यापकबाट अवकाश पाएपछि पनि दुई कार्यकाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा विताए उनले । आमा पनि शिक्षण पेशामा । आर्थिक दृष्टिकोणबाट पनि मध्यमवर्गीय परिवार हो केदेम परिवार । २०३६ साल फागुन २३ गते शुक्रबार जन्मिएका केदेमका अभिभावकनै पूर्ण शैक्षिक परिवार भएपछि केदेमको शैक्षिक यात्रा त अघि बढ्ने निश्चीत छदैैं थियो दाजु सरोज केदेमको प्रेरणाले राजनीतिक र सामाजिक क्षेत्रमा पनि उनलाई अघि बढायो ।

चुलाचुलीकै जनता माविबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरेका केदेम दमक बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक तह उत्तिर्ण गरेर स्नातकोत्तरका लागि साइप्रसको एक अमेरिकन कलेजमा पुगेका थिए । उनले त्यहाँको अमेरिकानोस कलेजबाट स्नातकोत्तर हासिल गरेका हुन । उनी एनआरएन साइप्रसको कार्यसमिति सदस्य समेत भए ।

विद्यालय उमेरदेखिनै प्रजातान्त्रिक विचारमा विश्वास गर्दै नेविसंघको सदस्य बनेका केदेमले नेविसंघमा होस वा पार्टीमा कहिल्यै राजनीतिक रुपमा कुनै पदीय लाभ लिने कोशिसनै गरेनन । केदेम भन्छन – मैंले कांग्रेस र प्रजातान्त्रिक व्यवस्थालाई बुझेर मन पराएको हँु । कसैको लहडमा होइन । दाजुले मलाई त्यो बुझाउनु भयो । अहिले उहाँ युकेमा हुनुहुन्छ म राजनीतिक र सामाजिक क्षेत्रमा दाजुलाईनै गुरु मान्छु । केदेम भन्छन – सायद स्नाकोत्तर तह यतैपनि गरिन्थ्यो होला तर देशको राजनीतिक अवस्था जर्जर थियो । स्वदेशमा भन्दा विदेशमा सुरक्षित हुने अवस्था थियो त्यही भएर साइप्रसनै रोजियो ।

साइप्रसबाट नेपाल फर्किएपछि पनि उनले प्रजातन्त्रप्रतिको मोहलाई त्याग्न सकेनन । उनका सहपाठी र नेविसंघका सहयात्री धेरै नेता, कार्यकर्ताहरु अहिलेपनि कांग्रेस र भातृ संगठनहरुको अग्रभागमा नै छन । पार्टीमा सक्रिय राजनीति नगरेपनि उनी सधैं प्रजातान्त्रिक आस्था र विचारमा अडिग छन । सामाजिक क्षेत्रमा सक्रिय छन । उनको बुझाईमा पार्टी भित्रको ठुलो रोग भनेकै गुटबन्दी हो ।

नेतृत्वले जहिल्यै पनि कांग्रेस कार्यकर्ताहरुलाई गुट बनाउनमा प्रेरित गर्दा कांग्रेसले खुम्चिनु पर्ने अवस्था आएको हो । गुट बनाएर भाग खोज्ने प्रवृत्तीले कांग्रेसमा समस्या ल्याएको मेरो बुझाई हो – केदेम भन्छन तरुण, विद्यार्थीलाई समय समयमा राजनीतिक रुपमा प्रशिक्षित गराएर जिम्मेवारी दिइनुपर्छ । कार्यकर्तामा प्रशिक्षणको अभाव र गुटबन्दीकै कारण ३६४ दिन कांग्रेस हुने र चुनावमा एक दिन भोट हाल्ने बेलामा अर्कै पार्टीलाई भोट हाल्ने समस्याले कांग्रेसको यो अवस्था हुन पुगेको उनको बुझाई छ । यो रोगलाई नेतृत्वले हटाउन आवश्यक भएको उनको सुझाव छ ।

Facebook Comments Box