दमक/ झापाको दमकमा चर्चित गायक शिशिर योगीको एकल साँझ हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीको आयोजनामा यही असोज ११ गते दमक ८ स्थित कस्मिक पाटी प्यालेसमा हुने योगीको एकल साँझको पूर्व तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
आयोजक कमिटीका अध्यक्ष रमेश लुइँटेलले व्यवसायीहरुमा रहेका अनेकौं पीडाहरुलाई बिर्साएर सांगितिक आनन्द दिलाउने प्रयास स्वरुप दशैंको समेत सन्मुख पारेर एकल साँझ आयोजना गरिएको बताए । नेकपा एमाले सम्बद्ध उद्योग व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको महासंघले गर्ने सो कार्यक्रममा महासंघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्य रहने जनाइएको छ ।
सो एकल साँझमा सहभागीहरुलाई शान्त रात्री भोजको समेत व्यवस्था गरिएको र प्रवेश शुल्क सिंगल (एक)का लागि १ हजार र जोडी (दुई जना)का लागि १ हजार पाँच सय रुपैयाँ तोकिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा व्यवसायी नेता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले व्यवसायीहरुले अहिले आर्थिक मन्दीका कारण थुप्रै तनाव भोग्नु परिरहेकाले उनीहरुको तनावलाई कम गर्दै व्यवसायीहरुबीच भावनात्मक एकता बलियो बनाउनका लागि पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा व्यवसायी संगठनका नेताहरु रिङकुमार आचार्य, राम रिमाल, पुँजी बजार संघ झापाका अध्यक्ष कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।