सुरुङगा/ झापाको कन्काई नगरपालिका वडा नं ४ मा अवस्थित शिवालय मन्दिरका नाममा ३४ बर्ष अघि नाप जाँच भई कायम भएको कूल १ विगाहा जग्गा मध्ये करीब ६ कठठ जग्गा गायब गरेर १४ कठठमा मात्रै घेराबाराको काम शुरु भएकोमा स्थानीय युवाहरुले चासो देखाएका छन् ।
सो मन्दिरको नाममा रहेको जग्गा विभिन्न कोणबाट अतिक्रमण भएकोमा त्यसतर्फ चासो नदेखाई स्थानीय सरकार र मन्दिर समितिको नेतृत्वले १४ कठठमा सिमित गर्न खोजेको भन्दै सार्वजनिक जग्गाको नाप जाँच सहि ढंगबाट गरी यकिन गर्न माग समेत गरेका छन् । सरोकारवाला युवाहरुको समुहले सुरुङगामा पत्रकार सम्मेलन गर्दै सो मन्दिरको जग्गा कुनैपनि निहुँमा गायब गर्ने काम भए आफूहरुलाई सह्य नहुने चेतावनी पनि दिएका छन् ।
पत्रकार सम्मेलनमा स्थानीय युवा मिलन कट्टेलले २०४२ सालमा कायम भएको कित्ता नं ८०९ को जग्गाको एक विगाहा क्षेत्रफल यकिन गर्न अहिले त्यस क्षेत्रमा नाप जाँच गर्नुपर्ने प्रमुख विन्दुका रुपमा रहेको जिरायत भन्ने ठाउँबाट जग्गाको पुनः नाप जाँच गरिनुपर्ने माग गरे ।
उनले सो विन्दुबाटै जग्गा नाप जाँच गरेर यस अघिका जग्गाको साँध सिमाना सम्बन्धीका ५ वटा मुद्धाको छिनोफानो भएको दृष्टान्त प्रस्तुत गर्दै अहिले मन्दिरको स्वामत्विको जग्गा सो विन्दुबाट नाप जाँच गर्न नमान्नु वडा र स्थानीय मन्दिर समितिको नेतृत्वको कम्जोरी भएको औंल्याए ।

मोहिनी हक , पोखरी हाइस्कूल–संधियार लगायतका मुद्धा जिरायतबाट नापेरनै किनारा लगाइएको यथार्थ नबिर्सिन मन्दिर समिति र स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं– मन्दिरको जग्गा संरक्षणका लागि जुटेका अर्का युवा ज्ञानु चुँडालले भने । सो मन्दिरको जग्गाको संरक्षणका लागि घेराबारा लगायत त्यहाँ संरचना निर्माणका लागि तत्काल प्रदेश सरकारबाट बजेट विनियोजन काम समेत भईरहेकाले सो संरचनामा पछि असर नपर्ने गरी तत्कालै जग्गा पुन नाप जाँच गरी यकिन गर्नुपर्ने आफूहरुको माग रहेको पनि चुँडालले बताए ।

Facebook Comments Box