दमक/अन्तराष्ट्रियस्तरमा सामाजिक काममा क्रियाशील रोटरी क्लबले दमकमा सामाजिक सेवाका तीन योजना आज एकै साथ समुदायलाई हस्तान्तरण गरेको छ ।
समुदायमा विशेष गरी शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धीमा सहयोग पुरयाउँदै आएको रोटरी क्लब अफ दमकले मोहन ढकालको नेतृत्वमा सन् २०१८/०१९ ( जुन ३० ) सम्म सञ्चालन भएका योजनाहरु मध्ये सम्पन्न भएका ति योजना हस्तन्तरण गरेको हो ।

क्लबले दमक नगरपालिकाकी उपमेयर गीता पौडेल (अधिकारी)को प्रमुख आतिथयमा तीनै स्थानमा अलग अलग कार्यक्रम गरेर योजना हस्तान्तरण गरेको हो ।
क्लबले दमक ८ स्थित चौंक दक्षिण जाने सेतुमारी सडक खण्डको प्रवेशद्धारमा रोटरी स्तम्भ निर्माण गरेको छ भने दमक ८ कै जनता आधारभूत विद्यालयमा प्रोजेक्टर उपकरणसहित कम्प्यूटर प्रयोगशाला कक्ष र दमक ९ स्थित महालक्ष्मी आधारभूत विद्यालयमा निर्माण गरिएको खानेपानी योजना हस्तान्तरण गरेको हो ।
अध्यक्ष ढकालले जनता आधारभूत विद्यालयमा प्रविधियुक्त र आधुनिक गुणस्तरको शिक्षामा सघाउन पुरयाउन २ थान कम्प्युटर, एक थान प्रोजेक्टरसहित कम्प्यूटर कक्षको व्यवस्थापन गरिएको बताए ।
त्यस्तै दमक ९ को महालक्ष्मी आधारभूत विद्यालयको हातामा विद्यालयको साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाको उद्घाटन गरिएको हो । ति योजना हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी नगरपालिकाकी उपप्रमुख अधिकारीले राज्यकै दायित्व भित्र पर्ने शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा यहाँका सामाजिक संघ संस्थाहरुका माध्यमबाट भएको योगदानको प्रशंसा गरिन् । ति कार्यक्रममा दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतम, ९ का वडाध्यक्ष रामबहादुर धिमाल, रोटरी क्लब दमकका निवर्तमान अध्यक्ष गंगा प्रसाद काफ्लेसहित क्लबका संस्थापक तथा पदाधिकारी एवम् सदस्यहरु सहित स्थानीय सामाजिक, शैक्षिक व्यक्तित्वहरु सहभागी थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव भरत चम्लागाइँले गरेका थिए । रोटरी क्लबले सन् २०२५ भित्र विश्वबाटै निरक्षरता उन्मुलन गरेर सबैलाई साक्षर बनाउने अन्तराष्ट्रिय योजना अनुसार नेपालमा समेत कार्यक्रमहरु गर्दै आएको छ ।

दमकमा डायलोसिस सेवा दिने तयारी
यसैबीच रोटरी क्लब अफ दमकको पहलमा अन्तराष्ट्रिय रोटरी क्लबले दमकमा मिर्गौलाका विरामीहरुको नियमित डायलोसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । क्लबले करीब ८० लाख रुपैयाँ लागत पर्ने उपकरणहरुसहितको सो सेवा सुचारु गर्ने पूर्व तयारी भईरहेको अध्यक्ष ढकालले बताए । दमकको एक निजी अस्पतालसंगको सहकार्यमा ति उपकरणहरुको व्यवस्थापन गरी छिट्टै सो सेवा शुरु गरिने उनले जनाए । दमकमा मिर्गौलाका विरामीहरुको डायलोसिस सेवा नहुँदा टाढा सम्म धाउनुपर्ने र महंगो खर्च ब्यहोर्नुपर्ने बाध्यता छ ।
आगामी नेतृत्व चापागाइँले सम्हाल्ने
यसैबीच रोटरी क्लब अफ दमकको नेतृत्व भोली ( जुलाई १ तारिख) देखि दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व सन्दिप चापागाइँ (दिपु)ले सम्हाल्दैछन् । क्लबको विधान अनुसार यस अघिनै प्रस्तावित अध्यक्षका रुपमा रहेका चापागाइँले १ तारिखदेखि स्वत क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सो पछि क्लबका अन्य विभिन्न पदमा समेत रोटरीयनहरुले आआफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।