निष्कर्ष न्यूज
दमक/असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउने गर्छ । किसानहरुले पनि यस दिनमा महत्वका साथ रोपाइँ गर्ने गर्छन ।
राँगा गोरुको सहारामा थुप्रै अघिदेखि खेत हिल्याएर विशेष गरी आजको दिन रोपाइँ गरेको धानखेती समयमै पाक्ने र धेरै फल्ने विश्वासका साथ असार १५ का दिन रोपाइँ गर्ने गरिन्छ ।

 

प्राकृतिक रुपमा बर्षा भएर जमेको पानीमा खेत हिल्याएर राँगा, गोरु, रोपाहार, ब्याडे, बाउसे सबै तारतम्य मिलाएर यस दिन गरिने विशेष किसिमको रोपाइँको महत्व अलग्गै किसिमको हुने गरेका कारण अझै पनि १५ असारकै दिन गाउँभरका किसानहरु जुटेर समुह समुहमा भेला भई अर्मपर्म गर्दै रोपाइँ गर्ने चलन कतिपय ठाउँमा छदैछ । तर यतिबेला न त खेतमा जोत्नका लागि घर घरमा राँगा गोरुनै पालिएका छन । न त अर्म पर्म नै गरेर रोपाइँ गर्ने चलन छ । न असार १५ अघिनै खेतमा जम्ने पानीनै परेको छ ।

कृत्रिम सिचाइँका माध्यमबाट भिजाइएको खेतमा ट्रयाक्टरमा जोडिएको हलो जोतेको खेतको कुना कन्दरा बाँझै छ । जसो तसो हिल्याएर रोपाइँ गर्न एकाध समुह भेला हुन्छन् । र रमाईलो मान्दै बर्षभरी खान पुगोस भनि कामना गर्दै रोपाइँ गर्नु रहर होइन बाध्यता जस्तै बन्दै गएको छ । झापाको हल्दीबारीका किसान रामनाथ दाहाल भन्छन–धान रोपाइँ गर्न असार पन्ध्र विशेष दिन त हो तर खेतमा पानी जमेको छैन । ढिलो गरी पानी परेपछी आकाशे पानीको भरमा धान खेती रहर हैन बाध्यता बनेको छ । नगरौं खेत बाँझै, गरुम बेला वितेपछि रोपेको धानमा मल, पानी सबै कुराको तारतम्य नमिलि फलेको धान हेर्दा रहर मात्रै गरे जस्तो हुन्छ । झापामै रोपाइँ गर्ने नाममा कतिपय ठाउँमा पार्टी तथा भातृ संगठनहरुले आयोजना गरेका कार्यक्रमहरुमा सेल्फी खिच्नैका लागि रोपाइँको ढर्रा गर्नेहरुको पनि भिडभाड देखियो ।

शिवगञ्जमा बेठी लगाएर रोपाइँ
झापाका कतिपय सुख्खा क्षेत्रमा पानीको अभावका कारण रोपाइँ शुरु हुन नसकेपनि कन्काई सिचाइँको सहारामा रोपाइँ गर्ने किसानहरुले भने कतै कतै आज असार १५ मा बेठी लगाएर हर्क बढाइँका साथ पनि रोपाइँ गरे । शिवसताक्षी नगरपालिका वडा नं ६ का धेरै किसान शिवगञ्ज बजारबाट झण्डै ३ सय मिटर नजिकै स्थानीय पूर्व शिक्षक समेत रहेका नारायण दाहालको व्यवस्थापनमा भएको वेठीसहितको रोपाइँमा सहभागी भएका हुन् । रोपाइँको पूर्व तयारीमा दाहाल र उनका सहयोगी शुभचिन्तक, आफन्तहरुसहित उल्लेख्य संख्यामा स्थानीयहरु खटिएका थिए । आईतबार बिहानै हिल्याईसकेको त्यहाँस्थित सवा विगाहा जग्गामा रोपाइँ गर्ने रोपाहार, ब्याडे र बाउसेहरु हर्षोल्लासपूर्वक रोपाइँमा सहभागी भए । कोही रोपाइँको अवलोकनका लागि मात्रै पुगे भने कसैले १२ बजे सम्मको चर्को घाममा पनि छुपु छुपु रोपाइँ गर्नमा व्यस्त भए ।

रोपाइँमा सो वडाका वडाध्यक्ष मनोज खुलाल (कार्की), कन्काई सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष कमल भण्डारीसहित स्थानीयहरु उल्लेख्य संख्यामा सहभागी भएको दृश्य मनमोहक थियो । त्यहाँ परम्परागत बाजागाजाको टोली, रोपाहार, बाउसे, ब्याडेहरु एकापसमा परम्परागत लोकभाकामा गीत गाउँदै हातमा धानको बीउ लिएर नाचिरहेका देखिन्थे । धान रोपाइँको आयोजना गरेका पूर्व शिक्षक दाहालले रोपाइँमा हुने गरेको रमाईलो, संस्कार, संस्कृति र परम्परा लोप हुँदै गएकाले संरक्षणका लागि सो रोपाइँ कार्यक्रम आयोजना गरिएको बताए । दाहालले रोपाइँमा सहभागी हुने र रोपाइँ अवलोकनका लागि पुगेका शुभेच्छुक, सहयोगीहरुलाई दही चिउरासंगै अन्य खाजाका परिकारहरुको पनि बन्दोबस्ती गरेर आकर्षित बनाएका थिए ।

Facebook Comments Box