दमक/ दमकको एउटा सामुदायिक विद्यालयका नाममा स्वामित्व ९ विगाहा जग्गा अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीय सरकारले जग्गाको वास्तविक अवस्था यकिन गरी त्यसलाई सदुपयोग गर्ने बिषयमा गृहकार्य शुरु गरेको छ ।

दमक ९ स्थित सरस्वती माविको स्वामित्वको १४ विगाहा जग्गाको संरक्षण गर्दै बहुउपयोगमा ल्याउन स्थानीय सरकारले गृहकार्य थालेको हो ।
२०२१ सालमा सो विद्यालयका नाममा दर्ता भएको दमकको साविक वडा नं १३ तथा हालको वडा नं ८ मा पर्ने १६ वटा भन्दा बढी कित्ताको जग्गा यकिन गर्दै स्थानीय सरकारको पहलमा बृहत गुरु योजना बनाएर बहुउपयोगमा ल्याउन प्रयास थालिएको बताइएको छ ।

सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा सदस्य समिन रिजालको संयोजकत्वमा दमक नगरपालिकाले २०७४ साल माघ २ गते गठन गरेको जग्गा नाप जाँच समितिले झण्डै डेढ बर्ष लगाएर जग्गाको नापजाँच र सीमाकंन कार्य पूरा गरी करिब एक महिना अघि नगरपालिकालाई प्रतिवेदन समेत बुझाईसकेको छ ।
समितिले नगरपालिकालाई पत्र बुझाएपछि नगरपालिकामा जनप्रतिनिधिहरुबीच सो बिषयमा बहस चलिरहेको छ । यद्यपी यो बिषयलाई नगरपालिकाका तर्फबाट अहिले सम्म सार्वजनिक गरिएको छैन ।

नगरपालिकाले रिजालको संयोजकत्वमा गठन गरेको जग्गा नाप जाँच समितिमा सरस्वती माविका शिक्षक हरि सुवेदी, दमक ८ का वडा सदस्य भीमराज चौंलागाइँ र नापी कार्यालय दमकका अमिन ज्ञानेन्द्र गौतम रहेका थिए । सो समितिले स्थलगत रुपमा जग्गाको नाप जाँच गरि यकिन गर्ने काम गरेको संयोजक रिजालले जानकारी दिए । सो क्रममा सरस्वती माविको स्वामित्वमा रहेको जग्गा विद्यालयका तत्कालिन प्रशासक, स्थानीय सामाजिक अगुवाहरु समेत ३ जनाको रोहबरमा विभिन्न व्यक्तिका नाममा नामसारी गरिदिएको पाइएको छ ।

मालपोत कार्यालय चन्द्रगढी र नापी कार्यालयमा समेत रहेका अभिलेखका आधारमा जुटेका प्रमाणहरु लिएर समितिले विद्यालयको जग्गाको नापजाँच त गर्यो तर त्यो जग्गामा विभिन्न शैक्षिक संस्था तथा व्यक्तिगत प्रयोजनका संरचनाहरु रहेको पाइएपछि सो ठाउँ खाली गराउन विद्यालयले सार्वजनिक सूचना समेत गरिसकेको छ । विद्यालयको स्वामित्वको सो जग्गा मध्ये केही भागको जग्गाको धनीपूर्जा जिल्लास्तरमा सरकारले गठन गरेका केहि अव्यवस्थित बसोबास तथा सुकुम्बासी आयोगले व्यक्तिका नाममा समेत जारी गरेको पाइएको छ । विभिन्न व्यक्तिका नाममा नामसारी गरिएको विद्यालयको जग्गा नामसारी गर्दा आवश्यक पर्ने मन्त्रीपरिषदको निर्णय भएको कुनै अभिलेख नपाइएको पनि समितिका एक सदस्यले बताए ।

त्यसका लागि आवश्यक पर्ने मन्त्रीपरिषदको निर्णय समेत कतै उल्लेख छैन , त्यसकारणा विद्यालयको जग्गा अतिक्रमणमा परेको हाम्रो ठहर छ – ति सदस्यले भने । कतिपय व्यक्ति तथा शैक्षिक संस्थाहरुले सरस्वती माविको स्वामित्वको सो जग्गा निश्चीत अवधिका लागि ठेक्का सम्झौता गरेर लिएको पाइन्छ भने भने कतिपयले सोझै अन्य व्यक्तिको रोहबरमा आफ्नो नाममा त्रुटीपूर्ण ढंगले नामसारी गरेको पाइएको छ ।
निश्चीत समयका लागि गरिएको ठेक्का सम्झौताको म्याद समेत सकिएकाले विद्यालयले अव सम्झौता नविकरण नगर्ने सार्वजनिक सूचना मार्फत जानकारी गराउँदै जग्गा खाली गर्न अनुरोध गरिसकेको छ । विद्यालयको स्वामित्वमा कागजी रुपमा कूल १४ विगाहा जग्गा देखिएपनि अहिले रहेको ९ विगाहा जग्गाको पनि उपयोग विद्यालयले गर्न सकेको छैन । देशव्यापी रुपमै अहिले सार्वजनिक जग्गा बेचविखन भएका तथा संरक्षण गर्नुपर्ने आवाज उठिरहेको बेला दमकको यो पुरानो र जटिल बन्दै गएको समस्याको पनि उचित निकास निकाल्नु पर्ने आवाज उठिरहेको छ ।

Facebook Comments Box