दमक/ नेकपा निकट व्यवसायीहरु आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वार चयन गर्ने कसरतमा दमक ८ स्थित बालुवाटारमा रहेको पूर्व माओवादी केन्द्रको कार्यालयमा भेला भएका छन् ।

शुक्रबार लोकतान्त्रिक व्यवसायीहरु कांग्रेसको पार्टी कार्यालयमा आन्तरिक छलफलमा जुटे भने नेकपा निकट व्यवसायीहरु बालुवाटारमा केन्द्रित भएका हुन् । नेकपा भित्र संघको अध्यक्ष पदमा कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा गम्भिर मतान्तर रहेको सार्वजनिक भईसकेको छ । यस अघि सार्वजनिक भएका समाचारहरुका अनुसार संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष राजेन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष विमल खतिवडा र प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले अध्यक्ष पदमा आआफ्नो दाबी राखिरहेका छन् । उनीहरुको उम्मेद्वारीका बिषयलाई लिएर नेकपाको पार्टी नेतृत्व समेत विभाजित छ । पार्टीले ध्रुव भट्टराईको संयोजकत्वमा २९ सदस्यीय निर्वाचन परिचलान समिति र दुर्गा चौलागाइँको संयोजकत्वमा राजनीतिक वार्ता तथा समन्वय समिति समेत गठन गरिसकेको छ ।

ति दुवै समितिमा समेत अध्यक्षका दाबेदार तीनै जनाका पक्षका नेताहरु छन् । हालका दाबेदार मध्ये ढकाल र खतिवडा यस अघिको निर्वाचनमा तत्कालिन नेकपाबाट विद्रोह गरेर स्वतन्त्र व्यवसायीको नाममा चुनाव जितेका व्यवसायी नेता हुन भने गुरागाइँ पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वार बनेर निर्वाचन जितेका व्यवसायी नेता हुन् । तत्कालिन विद्रोहीहरुले अहिले संघको नेतृत्वमा पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वार हुनुपर्ने दाबी राखेपछि पूर्व एमालेको तर्फबाट यस अघिको निर्वाचनमा अध्यक्ष उम्मेद्वार बनेका नेकपाका जिल्ला सदस्य समेत रहेका गणेश बस्नेतसहितका नेताहरुले आन्तरिक रुपमा तीव्र असन्तुष्टि राखिरहेका छन् ।

पार्टीका आधिकारिक उम्मेद्वारलाई चुनाव हराउने स्वतन्त्र व्यवसायीको नामका विद्रोहीहरुलाई अहिले पार्टीकै सहारामा उम्मेद्वार बन्न खोज्नुलाई पूर्व एमाले भित्रको एउटा खेमाले आपत्तीजनक रुपमा लिदैं आएको नेकपा निकट स्रोतको भनाई छ । यता संघको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले भने गोकूल श्रेष्ठलाई सर्वसम्मत उम्मेद्वार बनाउने आन्तरिक तयारी पूरा गरेको बताइएको छ । राप्रपा, संघीय समाजवादी पार्टी नेपाल लगायतका दलहरुसंगको सहकार्यमा चुनाव लड्ने तयारीमा रहेको कांग्रेसले अन्य पदका उम्मेद्वारहरुको चयन भने आईतबार साँझ सम्ममा गर्ने कांग्रेस निकट स्रोतले जनाएको छ ।

Facebook Comments Box