दमक/युवा तथा साना व्यवसायी स्वरोजगार कोषले दमकका ३ वटा सहकारी संस्था मार्फत ५८ जना साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन भन्दै १ करोड ५० लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको छ ।
दमकको दमक बहुमुखी सहकारी, फाल्गुनन्द बचत तथा ऋण सहकारी र सेतुमारी कृषि सहकारीमार्फत रु १ करोड ५० लाखका कर्जा प्रवाह गरिएको कोषका सदस्य सचिव सन्तोष सापकोटाले बताए ।
आज दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाको सभाकक्षमा कर्जा रकमको पहिलो किस्तामार्फतको रु ७५ लाख कर्जा रकम हस्तान्तरण गर्नुका साथै कर्जा पूंजीको उपयोगका वारेमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
अभिमुखीकरण उद्घाटनमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोख्रेल, दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, जिल्ला सहकारी संघका सदस्य प्रेम कोइराला लगायतले कोषको रकम उदेश्य अनुरुपको काममा लगाउन आग्रह गरेका थिए ।
दमक बहुमुखी सहकारीका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरण उद्घाटनमा फाल्गुनन्द साकोसका अध्यक्ष संकल्प लिङ्गदेनले स्वागत मन्तव्य राखेका थिए ।