दमक/ झापाको कमल ५ मा रहेका सहकारी संस्थाहरुले मासु उत्पादनका लागि सामुहिक बाख्रापालन गर्ने एकीकृत योजना बनाएका छन् ।

सो वडामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले मासु उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले पाठापाठी उत्पादन गराउन बोयर बाख्रापालन कार्यक्रम सञ्चालनको योजना बनाएका हुन् ।

वडामा रहेका सहकारीहरुबीच समन्वयका लागि गठन भएको वडा सहकारी समन्वय समितिले त्यस्तो योजनाका लागि प्रस्तावना पत्र समेत तयार गरिसकेको समितिका संयोजक एवम् चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण गौतमले बताए ।

करीब एक करोड रुपैयाँ लागतको सो योजनामा अनुदान सहयोगका लागि गाउँपालिकामा प्रस्ताव पेश गरिने बताइएको छ । कमल ५ मा कूल ११ वटा सहकारी संस्था हाल अस्तित्वमा रहेका छन । ति मध्ये कृषि सहकारी संस्थाहरुले तरकारी तथा अन्य कृषि उपज उत्पादनमा लगानी गर्ने पनि जनाइएको छ ।

Facebook Comments Box