झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ९ औं बर्षमा वित्तीय कारोबारसंगै सामाजिक क्षेत्रमा अलग्गै पहिचान बनाएको छ ।
कमल ५ का करिब एक दर्जन सहकारी संस्थाहरुमा रहेको कूल शेयर पुँजीको २९ प्रतिशत हिस्सा चन्द्रदर्शन एक्लैले ओगटेबाट पनि यो सहकारी तुलनात्मक रुपमा बलियो संस्थाको रुपमा रहेको प्रमाणित गर्छ । यो संस्थाले ६ असारमा आफ्नो ९ औं स्थापना दिवस पनि मनाउँदैछ ।  यो संस्थाको लेखा समिति संयोजक, सञ्चालक समितिको सचिव हुँदै दुई बर्ष अघिदेखि अध्यक्षको जिम्मेवारी सम्हालिरहेका व्यक्तित्व हुन वालकृष्ण गौतम ।
वडास्तरीय सहकारी समन्वय समिति कमल ५ का संयोजक समेत रहेका गौतम सहकारी, सामाजिक तथा राजनीतिक रुपमा परिचित व्यक्तित्व हुन् । प्रस्तुत छ गौतमसंग सहकारी बिषयमा केन्द्रित रहेर गरिएको सहकारी वार्ता ः

चन्द्रदर्शन सहकारीको पहिले र अहिलेको अवस्थामा के फरक छ ?

पहिलेको कुरा गर्दा यो संस्था जतिबेला हामीले स्थापना गरियौं त्यसबेला संस्था चलाउनै सकिन्छ कि सकिँदैन भन्ने अवस्था नै थियो । तर पनि हामीले हिम्मत साथ यसलाई चलाउने अठोट गरियौं । यहाँका साना ठूला व्यवसायीदेखि लिएर किसान सम्मका लागि वित्तीय कारोबार गर्न सहज होस भन्ने नै हाम्रो उदेश्य थियो । संस्थाका माध्यमबाट वित्तिय क्षेत्रमा फड्को मार्न सकिन्छ भन्ने हामीले सोच्यौं । र हामीले ३१ जनाले साढे ३ लाख शेयर पुँजी जम्मा गरेर यसलाई स्थापना गरेका हौं । अहिले यसको शेयर पुँजी २ करोड ५४ लाख पुगेको छ भने सदस्य संख्या ९ सय ५० पुगेको छ । जेठ मसान्त सम्मको कारोबारलाई हेर्दा १७ करोडको वासलात छ । जसमा १२ करोड रुपैयाँ बचत देखिन्छ भने ७५ लाख रुपैयाँ जगेडा कोषमा छ । त्यस्तै बैंक मौज्दात १ करोड ३८ लाख रुपैयाँ छ भने १५ करोड रुपैयाँ कर्जा लगानी रहेको अवस्था छ ।
हाम्रो संस्थाका नाममा कुनैपनि बैंक वा संघ संस्थामा कुनै किसिमको तिर्न बाँकी ऋण देखिँदैन । पौने २ करोड रुपैयाँ त हाम्रो बाल बचत रकम मात्रै छ । भने यो संस्था मातहतमा हाम्रो कार्यक्षेत्र अन्तर्गत केर्खा र गौरादहमा समेत सेवा केन्द्र सञ्चालनमा छन् । संस्थाले १७ जनालाई रोजगारीको अवसर दिएको छ । वित्तिय कारोबारसंगै यसले सामाजिक क्षेत्रमा पनि कामहरु गर्दै आएको छ ।

के कस्ता सामाजिक कामहरुलाई प्राथमिकता दिनु भएको छ ?

विशेष गरी हामीले हरेक बर्ष शेयर सदस्यहरु तथा अन्य इच्छुक रक्तदातालाई सहभागी गराएर ठुलो संख्यामा मानवीय सेवाका लागि रक्तदान कार्यक्रम गर्दै आएका छौं । त्यसका अतिरिक्त विभिन्न समयमा स्वास्थ्य शिविर, अपाङगता भएका तथा शारिरिक रुपमा अशक्तहरुको जिवनयापनमा सहजताका लागि ह्विलचेयर प्रदान गर्दै आएका छौं भने विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि दिदैं आएका छौं । आवश्यकता र परिस्थितीका आधारमा चन्द्रदर्शन साकोसले खेलकुद, मानवीय सेवा संगै साँस्कृतिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

तपाइँको बुझाईमा सहकारीमा मानिसहरु किन आवद्ध हुनुपर्ने ?

हामी यो वा त्यो सहकारी भन्दैनौं । सहकारीको अवस्था र विश्वसनियता हेरेर जहाँ कारोबार गरेपनि हुन्छ । तर बैंकहरुमा भन्दा स्थानीयहरुबाट सञ्चालित सहकारीमा कारोबार गर्नुमा धेरै फरक छ । सहकारीमा आफ्नो पैसा आफैं ऋण चलाए वापत व्याज तिरेपनि संस्था नाफामा जाँदा त्यसको हिस्सा आफूले पनि पाइन्छ । तर बैंकले कमाउँछन लैजान्छन् । सहकारीका माध्यमबाट स्थानीयस्तरमा अरु कामहरुमा पनि सहकार्य गर्न सजिलो हुन्छ । पारिवारिक सदस्यका रुपमा रहेर सहकारीमा आवद्ध हुन सकिन्छ भने बैंकमा एउटा ऋणी र साहुको रुपमा रहनु पर्छ ।

आफ्नो कार्यकालमा चन्द्रदर्शनलाई कसरी अघि बढाउने योजना छ ?

मैंले यस संस्थाको नेतृत्व सम्हाल्दै गर्दा जुन अवस्था थियो त्यसमा अहिले सम्म भएको प्रगतिनै मेरो लागि प्रेरणा बनेको छ । हामी यो सहकारीलाई कम्तीमा पनि पूर्ण रुपले सहकारीको नम्स भित्र राखेर चलाउने छौं । यसको ब्याज दर, कर्जा प्रवाह, कर्मचारी व्यवस्थापनमा अझ चुस्तता ल्याउँदै कर्मचारीहरुको वृत्ती विकास हुने ढंगबाट यसलाई अघि बढाइरहेका छौं । भौतिक पूर्वाधारका हिसावले पनि अहिलेको भवनलाई बढाएर तेस्रो तला सम्म पुरयाउने लक्ष्य छ । माथिल्लो तलामा सभाकक्षा, बीचमा संस्थाको कार्यालय र तल्लो तह व्यापारिक प्रयोजनमा उपयोग गर्ने हाम्रो लक्ष्य छ । हाम्रो संस्थामा मैंले अघिनै भनिसकें ठुलो बचत रकम बालबालिकाहरुको छ । त्यसकारण यो भवनलाई बाल मैत्री, महिला मैत्री अपाङ मैत्री भवनका रुपमा विकास गरेर लैजाने योजना छ । त्यस्तै प्रविधिका हिसाबले संस्थाको कारोबारलाई मोवाइल एप्स मार्फत सदस्यहरुले घरमै बसेर पनि जानकारी लिन सक्ने किसिमको बनाउन गईरहेका छौं । संस्थाले अहिले कर्जा लगानीको सीमा २५ लाख रुपैयाँ राखेको छ यसको दायरालाई बढाएर दुई बर्ष भित्र बढाएर ५० लाख रुपैयाँ सम्म पुरयाउने पनि लक्ष्य छ । त्यसैगरी बालबालिकाहरुलाई प्रविधिमा दक्ष बनाउन सहयोग पुरयाउने उदेश्यले एक लाख रुपैयाँ सम्म कम्प्युटर खरिदका लागि विना ब्याजमा कर्जा उपलब्ध गराउने हाम्रो योजना छ ।

तपाइँ सहकारी समन्वय समितिको संयोजक पनि हुनुहुन्छ, यो समितिको योजना चाहिं के छ ?

पहिलो कुरा त वडा कार्यालयको पहलमा यहाँ सहकारी समन्वय समिति गठन गरिएको हो । समिति बनिसकेपछि कमसेकम सहकारीहरुका बीचमा एकरुपता कायम गराउने कुरामा सहयोग पुगिरहेको छ । कर्मचारीको पोशाकदेखि संस्थाको कर्जा प्रवाह, संस्थागत उत्पादनमा लगानी गर्ने , प्राथमिकताहरु निर्धारण गर्ने, ब्याजदरमा एकरुपता, सेवामा एकरुपता ल्याउन यसले तत्कालै ठुलै सहयोग पुर्याउनेछ भने दीर्घकालिन रुपमा सदस्यहरुको आय आर्जन, संस्थाको आम्दानी बढाउने कुरामा पनि यसले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । हामीले भर्खरै उत्पादनका क्षेत्रमा लगानी गर्ने गरि स्थानीय सरकारसंग सहकार्यका लागि एउटा प्रस्ताव तयार गरेका छौं । सहकारीहरुले सामुहिक रुपमा यहाँ मासुजन्य उत्पादनका लागि करिब एक करोड लागत अनुमानको योजना प्रस्ताव गर्दैछौं । प्रजननका लागि बोयर बाख्रापालन कार्यक्रम चलाउने समन्वय समितिको प्रस्ताव छ । त्यो कार्यक्रमबाट कम्तीमा ५० वटा पाठापाठी उत्पादन गरेर यहाँको मासुको आवश्यकतालाई परिपूर्ति गर्ने, व्यवसायिक वाख्रापालनलाई अघि बढाउने र यसका माध्यमबाट मुलुकलाई मासुमा आत्मनिर्भर बनाउन केहि न केहि सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।

Facebook Comments Box