दमक/झापाको दमक नगरपालिकाको पाँचौं नगर सभामा सहभागीहरुले नगर प्रमुखले फोन नउठाएको देखि विपन्न तथा भुमीहिनहरुलाई जग्गाको स्वामित्व नपाएको सम्मका बिषयहरु उठान गर्दै गुनासो पोखेका छन् ।

आजदेखि शुरु भएको नगर सभामा नगर प्रमुख रोमनाथ ओलीले सक्षिंप्त सम्बोधन गरेर नगर सभा शुरु भएको घोषणा गर्दै नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै सहभागी नगर सभा सदस्यहरुलाई ३/३ मिनटमा आफ्ना कुरा राख्न समय दिएका थिए ।
नगर प्रमुखले दिएको ३ मिनटको समय अपुग भएको भन्दै धेरै जसो सहभागीहरुले आफ्ना १५ मिनट सम्म आफ्ना कुरा राख्ने क्रममा गुनासै गुनासा सुनाए ।
नगर सभामा सहभागी दमक ४ बाट निर्वाचित दलित महिला सदस्य देवीमाया गजमेरले भनिन– मेयर ज्यूले फोन उठाउनु भएन भन्ने हाम्रो वार्डका दिदीबहिनीहरुको अलिकति गुनासो छ । उनको भनाईको आशय गरीब तथा विपन्नका लागि सुरक्षित घर बनाईदिनु पर्ने थियो । उनले चिया वगानमा कार्यरत मजदुरहरुका बिषयमा पनि कुरा राखिन् । नगरसभामा बोल्दै दमक ४ कै अर्का वडा सदस्य नरेश सुनुवारले तीनै तहमा कम्युनिष्ट पार्टीको बलियो सरकार हुँदा हुँदै पनि गरीब तथा विपन्नका पक्षमा कार्यक्रमहरु नल्याइएको भन्दै रोष प्रकट गरे ।
उनले पनि वडाका भुमीहिन तथा सुकुम्बासीहरुलाई जग्गाको धनीपूर्जा नदिइएको तर भुमी सम्बन्धिका कारोबारी गिरोहले धमाधम आफ्नो स्वामित्वमा सार्वजनिक तथा ऐलानी जग्गा दर्ता गरिरहेको भन्दै त्यसतर्फ स्थानीय सरकारको ध्यान जानु पर्छ कि पर्दैन भनी प्रश्न गरे । तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सुनुवारले चुनावताका पार्टीले तयार पारेको घोषणा पत्र देखाउँदै बृद्धबृद्धालाई घर घरमै पुरयाउने भनिएको भत्ता लिन अहिले बैंकको चार तलामाथि सम्म धाउनु पर्ने बाध्यताका कारण झुक्याएको जस्तो महसुस भएको टिप्पणी गरे । उनले वडाका हरेक विकास योजनाहरुको छनौट र कार्यान्वयनमा वडा सदस्यहरुलाई भुमिका नदिइएको पनि गुनासो गरे ।
नगर सभाका अर्का सहभागी श्याम कार्कीले वडा सदस्यहरुलाई कम्तीमा १० ÷१० लाख रुपैयाँ बजेट खर्चिन पाउने व्यवस्था गर्नुपर्नेसहित ३० बुँदामा आफ्ना कुराहरु राखेका उनले नगरपालिकाबाट भईरहेका कामको प्रशंसा पनि गर्न भ्याए । नगर सभामा कृतिका भट्टराई, बुद्धमाया गजमेर लगायतले पनि आफ्ना आफ्ना कुुरा राखेका थिए ।
नगरसभा सदस्यहरुले उठाएका बिषयहरुको जवाफ दिदैं नगर प्रमुख ओलीले संघ र प्रदेश संसदमा भुमी सम्बन्धि ऐन कानुन निर्माणको चरणमा भएका कारण नगरपालिकाले सुकुम्बासीलाई भुमीको स्वामित्व प्रदान गर्ने कुरामा ढिलाई भईरहेको स्पष्टोक्ति दिए ।
सभामा नगर उपप्रमुख गीता पौडेल (अधिकारी) ले आर्थिक बर्ष २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गरिन् । उनले समृद्ध नगर सुखी नगरबासीको परिकल्पना गरिएको बताइन् ।