गौरीगञ्ज/अधिक ग्रामिण क्षेत्र रहेको झापाको गौरीगञ्ज गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि नीतिगत निर्णय लिएको छ ।

गाउँपालिकाले कृषिको व्यवसायीकरण तथा विविधकरणमा जोड दिदैं कृषिका माध्यमबाट आयआर्जन तथा रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ । गाउँपालिकाको हालै सम्पन्न पाँचौं गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई समेट्दै भनिएको छ –वैज्ञानिक भू–उपयोग प्रणालीको उपयोग गरी उर्वरा कृषि भूमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिनेछ ।

कृषिको विकासका लागि सिँचाई सुविधा, कृषि सडक, ग्रामीण विद्युतीकरण र उपयुक्त कृषि प्रविधिको विकास तथा विस्तार गरिने, सिँचाई, सडक तथा विद्युतीकरण सुविधा भएका क्षेत्रमा उपलब्ध प्रविधिको व्यापक उपयोग गराउने नीति पनि लिइएको छ ।
प्रमुख उत्पादन सामग्रीहरू (उन्नत पशु, पंक्षी, माछा भूरा, जैविक मल एवं बीउ बिजन आदि) को लागत साझेदारीको आधारमा अनुदानको व्यवस्था गरिने , स्थानीय तहमा कृषकहरूको क्षमता सुधारका लागि कृषककै माग अनुसारका तालिम कार्यक्रममा विशेष जोड दिइने , पशु, बाली बीमा कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई प्रोत्साहित गरिने साथै रासायनिक मलको प्रयोगलाई निरुत्साहित गरी प्राङ्गारिक खेती लाई प्रोत्साहन गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले ल्याएको कृषि सम्बन्धि नीति अनुसार प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा संचालन गरिने एक स्थानीय तह एक उत्पादनलाई प्राथमिकता दिइने , हरेक वर्ष गाउँपालिका भित्रका उत्कृष्ट किसानलाई पुरस्कृत गरेर कृषि पेशालाई सम्मानित पेशाका रुपमा चिनाउने, सुख्खा जमिनमा सामुहिक तथा व्यक्तिगत सिचाईका उपकरण जडान गर्न अनुदान दिने, कृषि मेला तथा प्रदर्शनीलाई प्रोत्साहित गर्ने, कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, साथै गौरादहस्थित कृषि क्याम्पसमा बि.एस्सी. एजी. अध्ययनका लागि गौरीगञ्ज गाउँपालिका क्षेत्रका कम्तिमा दुईजना विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाउने पनि नीति कार्यक्रममा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

गाउँपालिकामा कृषक समुहहरु दर्ता गरी समुहलाई प्रोत्साहित गरिने, हाल संचालित स्थानीय हाटबजारलाई कृषि बजारको रुपमा स्थापित गर्ने प्रयास गरिने पनि जनाइएको छ । कृषकहरुको उत्पादित वस्तुहरुको लागत र बिक्री मूल्य सहित अनुपातको सन्तुलित व्यवस्थापनका लागि पहल गरिने नीति लिइएको गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी दिए । कृषि उपजहरुको भण्डारणका लागि कोल्ड स्टोर निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिनेपनि नीति कार्यक्रममा समेटिएको छ ।

Facebook Comments Box