दमक / आउँदो २० भदौ भित्रमा हुने दमक उद्योग वाणिज्य संघको चुनावमा अध्यक्षका उम्मेद्वार को को हुन भन्ने बिषयले अहिले दमकमा चर्चा पाईरहेको छ ।

खास गरी व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि नेतृत्वका लागि आकांक्षीहरु पनि बढ्दै गएका छन् । तर ति आकाक्षींहरुका बीचमा खासै छलफल भएको छैन ।
आआफ्नो पार्टी र समुह भित्रका कार्यकर्ता तथा व्यवसायीहरुका माझमा ति नामहरुको चर्चा हुन थालेको छ जो संघको अध्यक्ष पदका लागि उम्मेद्वार हुन योग्य छन् । संघमा यस अघि स्वतन्त्र व्यवसायीको प्यानल भनेर नाम दिइएको तत्कालिन नेकपा एमाले भित्रको तत्कालिन विद्रोही समुह भित्र पनि अहिले अध्यक्ष पदका लागि दुई जनाको चर्चा छ ।

हुन त तत्कालिन विद्रोही एमालेका कार्यकर्ताको पहिचान बनाउँदै संघको अध्यक्षमा उम्मेद्वार बनेर पार्टी नेतृत्वलाईनै चुनौती दिन सफल मानिएका संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाल अहिले सत्तारुढ नेकपाको नगर कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् । उनी स्वयं अध्यक्षको लागि आन्तरिक लविङमा रहेका व्यवसायीहरु माझ चर्चा छ । उनी बाहेक सोही समुहबाट निर्वाचन जितेका हालका वरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र तत्कालिन एमाले र राप्रपाको समर्थनमा निर्वाचन जितेका हालका प्रथम उपाध्यक्ष गोपाल गुरागाइँ पनि नेकपाकै समर्थनमा अध्यक्षको उम्मेद्वार बन्ने सम्भावना बोकेका व्यवसायी नेता हुन् ।

सो बाहेक कांग्रेसले संघको अध्यक्षमा कसलाई उम्मेद्वार बनाउने हो भन्ने पनि चासो राखिरहेका छन दमकका उद्योगी व्यवसायीहरुले । कांग्रेसको तर्फबाट संघको अध्यक्षका लागि यस अघिको निर्वाचनमा अध्यक्षको प्रत्यासी रहेका युवा व्यवसायी गोकुल श्रेष्ठको नाम प्राथमिकताका साथ चर्चामा छ । पार्टीका एक जना स्थानीय नेता भन्छन–यस अघिको चुनावमा मुख्य प्रतिस्पर्धी समेत रहेका कारण अबको चुनावमा उहाँको उम्मेदवारीले प्राथमिकता पाउँछ । यदी उहाँले अनिच्छा देखाउनु भयो भने मात्रै विकल्पमा अरु उम्मेद्वारको तयारी हुन्छ । कांग्रेसले अन्य दलका व्यवसायीहरुसंग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको पनि ति नेताले खुलासा गरेका छन् ।
कांग्रेसले श्रेष्ठको विकल्पका रुपमा भने संघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाई र पूर्व उपाध्यक्ष माधव पराजुलीको नाम पनि चर्चामा छ ।

Facebook Comments Box