दमक/ उद्योग वाणिज्य संघमा राजनीतिक दलहरुको चासो बढ्दो छ ।
दमकमा झण्डै ६५ दिन भित्रमा हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा आ–आफ्नो पकड जमाउन राजनीतिक दलहरु स्थानीयस्तरमा क्रियाशील बनेका छन् । कतिपय दलहरुले आफ्ना सम्बद्ध व्यवसायीहरुका संगठन मार्फत त कतिपयले सोझै चुनावी तयारी गर्न थालेका छन् ।
अघिल्लो बर्ष स्वतन्त्र व्यवसायीहरुको प्यानल भनेर चर्चा गरिएको राजेन्द्र ढकाल अध्यक्ष रहेको प्यानलका उम्मेद्वारहरु वरिष्ठ उपाध्यक्षमा विमल खतिवडा र तृतीय उपाध्यक्षमा युवराज घिमिरे मात्रै विजयी भएका थिए । कार्य समिति सदस्यका कोही पनि उम्मेद्वारहरु सो प्यानलबाट निर्वाचित हुन सकेनन् ।

तत्कालिन नेकपा एमालेको विद्रोही समुह जस्तो देखिने स्वतन्त्र भनिएको सो प्यानलका विजयी उम्मेद्वार समेत आन्तरिक रुपमा अहिलेको नेकपाबाट उम्मेद्वार बन्ने चर्चामा छन् । तीन बर्ष अघि मात्रै स्वतन्त्र प्यानल खडा गरेर निर्वाचनमा होमिएका ति उम्मेद्वारहरु यस पटक राजनीतिक दलको समर्थन वा सहयोगमा उम्मेद्वार बन्ने हुन वा होइनन भन्ने कुनै निक्र्यौल त अहिले भईसकेको छैन । तरपनि त्यसताका तत्कालिन एमालेमा विद्रोह गरेर पनि चुनाव जितेका वाणिज्य संघका अध्यक्ष ढकाल अहिले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको दमक नगर कमिटी सदस्य छन् । उनी सो जिम्मेवारीमा रहेका कारण अबको चुनावमा गत बर्षको स्वतन्त्र व्यवसायीको प्यानल अब स्वतन्त्र नरहन देखिन्छ । कतिपयले चुनाव जितिसकेपछि स्वतन्त्र प्यानलले तत्कालिन पार्टी नेतृत्व र सिंगो पार्टीलाई नै चुनौती दिएको विश्लेषण थियो ।

कतिपयले स्वतन्त्र प्यानल केवल चुनावी परिणाम हत्याउने तत्कालिन एमालेको रणनीति मात्रै थियो पनि भन्दै आएका छन् । चुनावमा व्यवसायीहरुको दलीय प्यानल कसको नेतृत्वमा कस्तो बन्ला त्यो अहिलेनै निक्र्यौल भईसकेको त छैन तर पनि दमकमा अस्तित्वमा रहेका सत्तारुढ नेकपा, नेपाली कांग्रेस र समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको समायोजनपछि बनेको समाजवादी पार्टी नेपाल वाणिज्य संघको चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।

तत्कालिन एमालेको तत्कालिन विद्रोही समुह कायम रहेमा फेरीपनि तीन पक्ष उम्मेद्वारहरु चुनावी मैदानमा आउने सम्भावना एकातिर छ भने तत्कालिन विद्रोही समुह पहिलाको अवस्थामा नरहेका कारण नेकपाकै समर्थनमा उनीहरु समेतको संलग्नतामा उम्मेद्वारहरु चुनावी मैदानमा आउँदा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी र नेकपा निकट व्यवसायीको समुहबीच मात्रै चुनावी प्रतिस्पर्धा हुने हो कि भन्ने अडकलबाजी पनि शुरु भएको छ ।

कांग्रेस र नेकपा मात्रै होइन संसदमा तेस्रो ठुलो दल रहेको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच केन्द्रमा एकता भईसकेकाले ति दुई पार्टी , राप्रपा , लिम्बुवान, जनमुक्ति पार्टी नेपाल लगायतका दलहरु पनि दमकमा क्रियाशील रहेका र यस अघिका चुनावमा समेत ठूला दलसंग वाणिज्य संघको चुनावमा गठबन्धन गर्दै आएका कारण उनीहरुको आकर्षण र रोजाई कुन कुन प्यानलमा पर्ने हो भन्ने पनि चासो र बहसको बिषय बनिरहेको छ ।
चाम्लिङको नेतृत्वमा समिति
त्यसो त दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै समाजवादी पार्टी नेपालले एक समन्वय समिति नै गठन गरिसकेको छ ।
पार्टीको नगर वैठकले वाणिज्य संघका पूर्व सदस्य समेत रहेका तत्कालिन संघीय समाजवादी फोरम नेपालका प्रदेश संयोजक प्रविण चाम्लिङको संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरेर चुनावमा दलीय सक्रियता औपचारिक रुपमा शुरु गरेको हो ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी वीच एकीकरण भई समाजवादी पार्टी नेपाल बनेको भएपनि जिल्ला तथा स्थानीय तहमा भने समायोजन प्रकृया टुंगी नसकेको हुदाँ हाललाई सो समन्वय समिति गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले जनाएका छन् ।
२६९१ मतदाता
संघको आसन्न निर्वाचनमा २६९१ जना मतदाता रहने निश्चित छ । गत जेठ मसान्तसम्ममा नविकरण भएका ति फर्मका सञ्चालकहरु मात्र मतदाता हुन पाउने विधानमा व्यवस्था रहेको संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले बताए ।

सम्भावित उम्मेद्वारका दाबेदारहरु
संघको अध्यक्ष पदका लागि उम्मेद्वार हुन योग्य उम्मेद्वारहरुका बारेमा चर्चा शुरु भएको छ । संघको विधान अनुसार यस अघि कम्तीमा एक कार्यकाल सदस्य भईसकेकाले मात्रै पदाधिकारीको उम्मेद्वार बन्न पाउने व्यवस्था छ ।
संघमा यस अघिको चुनावमा स्वतन्त्र व्यवसायीको प्यानल भनेर नाम दिइएको तत्कालिन नेकपा एमाले भित्रको तत्कालिन विद्रोही समुह भित्र पनि अहिले अध्यक्ष पदका लागि दुई जनाको चर्चा छ ।
संघका वर्तमान अध्यक्ष ढकाल स्वयम पुन अध्यक्षका लागि आन्तरिक लविङमा रहेका बताइएको छ । उनी बाहेक सोही समुहबाट निर्वाचन जितेका हालका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा र तत्कालिन एमाले र राप्रपाको समर्थनमा निर्वाचन जितेका हालका प्रथम उपाध्यक्ष गोपाल गुरागाइँ पनि नेकपाकै समर्थनमा अध्यक्षको उम्मेद्वार बन्न योग्यता पुगेका सम्भावित व्यवसायी नेता हुन् ।
त्यस्तै लामो समय वाणिज्य संघको नेतृत्व गरिसकेको नेपाली नेपाली कांग्रेसले यस पटक संघको अध्यक्षमा कसलाई उम्मेद्वार बनाउने हो भन्ने पनि दमकका उद्योगी व्यवसायीहरुले चासो राखिरहेका छन् । कांग्रेसको तर्फबाट संघको अध्यक्षका लागि यस अघिको निर्वाचनमा अध्यक्षको प्रत्यासी रहेका युवा व्यवसायी गोकुल श्रेष्ठको नाम प्राथमिकताका साथ चर्चामा छ । पार्टीका एक जना स्थानीय नेता भन्छन– यस अघिको चुनावमा मुख्य प्रतिस्पर्धी समेत रहेका कारण अबको चुनावमा उहाँको उम्मेदवारीले प्राथमिकता पाउँछ । यदी उहाँले अनिच्छा देखाउनु भयो भने मात्रै विकल्पमा अरु उम्मेद्वारको तयारी हुन्छ ।
कांग्रेसले अन्य दलका व्यवसायीहरुसंग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको पनि ति नेताले खुलासा गरेका छन् । कांग्रेस भित्र श्रेष्ठको विकल्पका रुपमा भने संघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाई र पूर्व उपाध्यक्षहरु बबरजंग थापा ( किरण) र माधव पराजुलीको नाम पनि अघि सार्ने तयारीमा छ ।

Facebook Comments Box