दमक/ वैदेशिक रोजगार विभागले करिब एक महिना अघिनै देशभरका सबै म्यानपावरका एजेण्टहरुको इजाजत खारेज गरेपनि बर्षौदेखि इजाजत नलिई त्यस्तो धन्दा गर्ने गिरोहबाट ठगिने क्रम रोकिएको छैन ।
म्यानपावर वा एजेण्ट केहिको इजाजत अनुमती नलिई गाउँ गाउँमा बसेर सर्वसाधारणलाई झुक्याई लाखौं रकम ठगी गर्ने क्रम नरोकिएको हो ।
झापाको गौरादह ९ बैगुनधुरा स्थायी घर भई अबैध रुपमा म्यानपावर एजेण्ट ( दलाल) को काम गर्ने बाबुराम निरौलाले गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका २ जना र वडा नं २ कोरोबारीका २ जना युवालाई झुक्याएर भिजिट भिसामा दुवई पठाएर कूल ८ लाख ६३ रुपैयाँ ठगी गरेका छन् ।

एक महिना अघि दुवई पठाइएका गाउँका ति युवाहरु दुवईमा गाउँकै चिनजानका साथीहरुको सहयोगमा एक दलाल महिलासहितको कब्जाबाट उम्किएर बिहिबार नेपाल फर्किएका छन् ।
निरौलाले माहाभाराका सुकराज शेख, उमाशंकर राजवंशी, कोरोबारीका शम्भु राई र रमेश मगरलाई जनही २ लाख भन्दा बढी रकम लिएर वर्किङ भिसा भन्दै झुक्याएर दमकदेखि काठमाडौं सम्मका दलालहरुसंग साँठगाँठ गर्दै एक महिना अघि दुवई पुरयाएका थिए ।
दुवईको एक अमेरिकी जुस कम्पनीमा काम लगाई दिने भन्दै साधारण लेखापढी भएका सोझा सिधा ति युवाका अभिभावकले बारम्बार निरौलालाई आफ्ना छोरा फिर्ता ल्याई दिन र अहिले सम्मको क्षतिपूर्ति भर्न आग्रह गर्दै भेट गर्न खोज्दा भागी भागी हिंडेपछि पीडितहरु न्यायका लागि गुहार माग्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलसंग सम्पर्क गर्न पुगेका छन् ।
जानकारहरुको परामर्शमा पीडितहरुको तर्फबाट सेखका बुबा मजबुर सेखले दिएको उजुरीका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरले निरौला विरुद्ध ११ असारमा पक्राउ पूर्जी जारी गरेको छ ।
सो सम्बन्धिको जानकारी कार्यालयले जिल्ला प्रशासन कार्यालय झापा र काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका सम्बन्धित इलाका प्रहरी कार्यालयहरुमा समेत गराएको छ ।
पिडक निरौलाले दुर्वइमा वर्किङ भिसा भनेर भिजिट भिसामा पठाई पीडितहरुलाई विचल्ली बनाएको ब्यहोरा उजुरीमा उल्लेख छ । उनीहरुलाई दुवई पुगेपछि साथमा रहेका मोवाइल र लत्ताकपडा समेत खोसेर दलालहरुले कन्तविजोग बनाएपछि साथीहरुको सहारामा बसेका थिए ।
पीडित चारै जना आफन्त र गाउँका छिमेकीहरुको शरणमा दुवईमा बसेर घरबाट प्लेन टिकट वापतको जनही २५ हजार रुपैयाँ पठाएपछि नेपाल फर्किन सम्मभव भएको मजबुर सेखले बताए ।
यसैबीच वैदेशिक रोजगारका नाममा लाखौं रुपैयाँ ठगी गरेको भन्दै निरौलासहित झापाका ४ जना विरुद्ध श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेपछि उनीहरुका नाममा पक्राउ पूर्जी जारी भएको छ । निरौला बाहेक अरु दमकमा अबैध म्यानपावरको काम गर्ने दुई जना र विर्तामोडमा राहदानी फिर्ता नगर्ने एक जनालाई पक्राउ गर्न आदेश गरेको हो ।
दमकमा क्यारियस गाईडेन्स सञ्चालन गरेर बस्ने कमल कट्टेल र दमक ५ मा मार्भलस इम्प्लोइमेन्ट प्रालि पूर्वाञ्चल ट्रेनिक सेन्टर सञ्चालन गरी बस्ने विशाल बस्नेत तथा विर्तामोडमा सुनकोशी ओभरसिज प्रालि नामक म्यानपावर सञ्चालन गरी बस्ने सन्तोष राई विरुद्ध पीडितहरुले उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालयले पक्राउ गरी कार्यालयमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय झापा र काठमाडौं , जिल्ला प्रहरी कार्यालय झापा र काठमाडौंलाई पत्राचार गरेको छ ।
उनीहरु चारै जनाका नाममा ११ असारमा पक्राउ पूर्जी जारी भएको हो । बस्नेतले उर्लाबारी ३ का मिलन दर्जी भित्रिकोटीको राहदानी र मेडिकल खर्च वापतको रकम फिर्ता नगरेको उजुरी छ भने कट्टेलले भद्रपुरका एक व्यक्तिसंग वैदेशिक रोजगारमा पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको ब्यहोराको उजुरी परेको छ । त्यस्तै विर्तामोडका राईले एक जनाको राहदानी फिर्ता नगरेको उजुरी छ ।
आरोपित व्यक्तिले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० विपरित कार्य गरेको भनी किटानी उजुरी दिएकाले सोही ऐनको दफा ४३ ले इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा वैदेशिक रोजगारीमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जना वापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई तीन लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिवाना वा तीन बर्षदेखी ७ बर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेकाले सो कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरले उनीहरुलाई पक्राउ गर्न पत्राचार गरेको हो ।