दमक/ मच्छड धपाउन ग्वालीमा धुनी जगाउँदा भएको आगलागीका कारण विचल्लीमा परेको झापा गौरीगञ्ज – २ साविक कोरोबारी ९ भाकुरमारीका केन्चु ताजपुरीयाको अवस्थाबारे आज जनप्रतिनिधिसहित गाउँपालिकाको टोलीले स्थलगत जानकारी लिएको छ ।

२ दिन अघि भएको सो घट्नाका पीडित ताजपुरीयाको घरमा पुगेर टोलीले उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको हो ।
गौरीगञ्ज २ का वडाध्यक्ष अघ्नु राजवंशी, वडा सदस्य जेठा मुर्मु र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यसहितको टोलीले सो परिवारको पुर्नस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

आगलागीका कारण ताजपुरीयाका ३ वटा फुसका घर र एउटा टिनको छानो भएको घर, नगद एक लाख, लत्ता कपडा, खाद्यन्न आदी जलेर नष्ट हुँदा ४ लाख रुपैयाँ भन्दा बढीको धनमाल नोक्सान भएको थियो ।
आगो निभाउने क्रममा हात , खुट्टा समेत जलेपछि ताजपुरीया ओछ्यान परेका छन् । घर जलेपछी पीडित ताजपुरीयाको ८ जनाको परिवार आफन्तको शरणमा बस्दै आएका छन् । पीडित परिवारलाई वडा कार्यालयका तर्फबाट र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तत्काल खाद्यन्न, त्रिपाल र एक थान कम्वल प्रदान गरिएको वडाध्यक्ष राजवंशीले बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाक्यले पीडित परिवारको पुनस्र्थापनाका लागि एक÷दुई दिन भित्रै गाउँपालिकाको बोर्ड बैठक बसेर आवश्यक राहत सहयोग उपलब्ध गराउने बिषयमा निर्णय लिइने बताए ।

परीक्षाको अघिल्लो रात किताब कापीबिहिन
आगलागीका कारण ताजपुरीयाका एक छोरी र एक छोरा परीक्षाको अघिल्लो दिननै किताब कापीबिहिन बनेका छन् । घरबाट एक घण्टा पैदलदुरीमा रहेको आदर्श माविमा कक्षा १० मा पढ्ने छोरी वृन्दा ताजपुरीया, ८ मा पढ्ने पवित्रा र ७ मा पढ्ने हरिभक्त ताजपुरीया बुधबारदेखि शुरु भएको त्रैमासिक परीक्षाको तयारीमा थिए ।
उनीहरुका लागि स्कूल जाने न किताब कापी रहे न लुगा कपडानै । पवित्रा र हरिभक्त साथीभाई छरछिमेकीका सहारामा स्कूल गए भने खुल्ला आकाश मुनीको चुल्होमा छिमेकीकै सहारामा चुल्हो बलेको छ ।

Facebook Comments Box