दमक/ ३ दिन यता दमक र आसपास क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ ।
विद्युत प्राधिकरणको सेवा अवरुद्ध सम्बन्धि पूर्व जानकारी विनानै जुनसुकै समयमा विजुली आउने र जाने क्रम चलिरहँदा उपभोक्ताहरु हैरान भएका छन् । नियमित विद्युत आपूर्तिमा भएको गडबडीका कारण विद्युतीय उपकरणहरु एक्कासी विग्रिदा सर्वसाधारण उपभोक्ताहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।
विद्युत गडबडीका कारण बजार क्षेत्रमा विद्युतीय पंखा, कम्प्युटर, पानी तान्ने मोटरका अतिरिक्त फ्रिज आदी विग्रिएर हैरानी खेप्नु परेको उपभोक्ताहरुको गुनासो छ । गर्मीको समयमा एक्कासी विद्युत आपूर्ति बन्द गर्दा बृद्धबृद्धा र बालबालिकाहरु धेरै प्रभावित भएका छन् । सरकारी स्वास्थ्य संस्था तथा अन्य स्थानीय तहका कार्यालयहरुमा समेत पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही र कर्मचारी दुवैले समस्या भोग्नु परिरहेको छ ।
दमक ५ स्थित वडा कार्यालयका सचिव भोसकुमार राईले विद्युत सेवा बारबार अवरुद्ध हुँदा कम्पयुटर थन्क्याएर हातले चिठठ्ी पत्र तयार पार्नुपर्ने अवस्था आएको बताउनु भयो । पटक पटकको विद्युत अवरुद्धका कारण इन्भर्टरले समेत कम्प्युटर र पंखा चल्न नसक्ने अवस्था आएको बताउँनु भयो । गर्मीको समयमा विद्युत नभएकै कारण झ्याल नलगाई सुत्नाले रातको समयमा ठाउँ ठाउँमा झ्यालबाट मोवाइल चोरीका घट्ना समेत हुन थालेका छन् ।