विष्णु पौडेल

दमक/ उज्यालो नहुँदैदेखि चिया, नास्ता बनाउनु र ग्राहकलाई सन्तुष्ट बनाउँदै आफनो जिविकोपार्जनका लागि खर्च जुटाउनु ४३ बर्षिय काजी राउतको नियमित दैनिकी हो । झापाको तत्कालिन शरणामती ७ ( हालको झापा गाउँपालिका वडा नं-७ ) का स्थायीबासिन्दा राउतको नियमित यो दैनिकी दमक ५ बेलडाँगी रोडको एउटा चियापसलमा वितिरहेको छ ।

अभाव र कष्टसाथ शुरु भएको काजीको जिवनका संघर्षको कथा लामो छ । हुन त अक्सर मानिसको जिवनमा दुख, सुख, पिर मर्का धेर थोर सबैको हुन्छ । तर त्यस्ता संघर्षका बाबजुद समाजमा अलग किसिमको पहिचान बनाउनु र समाजलाई सबैले पछयाउन लायकको उदाहरण छोडनु चुनौतीपूर्ण हो ।

अहिलेको झापा गाउँपालिका साविक शरणामतीमा नै जन्मिएका उनको पिता पुर्खाको थलो भने खोटाङको जन्तेढुंगा गाउँपालिका हो । काजी राउतले बुबा आमा राम्रो संग चिन्ने उमेर नहुँदैदेखि साथ गुमाउनु पर्यो । बुबा म पाँच बर्ष हुँदा वित्नु भयो आमा आमाले अर्कै बाटो रोज्नु भयो । ” मैंले हजुरआमाको साथ संरक्षण पाएँ ” उनले भने । आमा र बुबा दुवैको सहाराबिहिन बनेका उनले हजुरआमाको संरक्षकत्वमा साधारण स्कुले जिवनको अभ्यास सम्म गर्न पाएका छन ।” एक प्रकारले मेरो जिवनमा आमा बुबा , दाजुभाई जो भने पनि हजुरआमा मात्रै हुनुहुन्थ्यो ”  काजीले आफनो विगतका संघर्षको व्यथाहरु संक्षेपमा भने ।

हजुरआमा आफू ३२ बर्षको हुँदा गुमाउनु पर्यो । हुन त हजुरआमा रोग ब्याधले पनि थलिनु भएको थियो । सकि नसकि मेरा लागि संघर्ष गर्नु भयो र मलाई मेरो आमा बुबा भन्दा पनि ठुलो भगवानका रुपमा उहाँले सेवा गर्नु भयो ।” मैंले हजुरआमाको त्यो ऋण चुक्ता त गर्न नसकौंला तर गरीब दुखीको सेवामा लागिरहन पाए उहाँ ( हजुरआमा) को आत्मालाई पनि सन्तोष मिल्ला भन्ने लागेको छ ” राउत भन्छन ।

उपचारदेखि विपन्नलाई घर बनाउन सम्म सञ्जालकै सहारा

समाजमा गरीब, दुखी र असहायहरुलाई होलो होचो गरेको उनलाई पटक्कै मन पर्दैन । हजुरआमासंगको बसाई र सेवाले उनलाई समाजका बृद्धबृद्धा र असहायहरुको सेवामा लागिरहन सधैं प्रेरित गरेको छ ।

गाउँ घरमा कोही गरिब , दुखी आर्थिक अभावमा उपचार नपाएर छटपटाइरहेको देखे सुने भने काजीको मन पटक्कै मान्दैन ।” म संग अरुको सेवाका लागि खर्चिन पुग्ने रुपैयाँ पैसा त छैन तर रुपैयाँ पैसा हुने धेरै साथीभाईहरुले मलाई त्यस्ता ( सेवाका काममा) लागिरहन हौसला र प्रेरणा दिइरहनु हुन्छ” काजी भन्छन ।
श्रीमति र चार छोरीका धनी राउतले सामाजिक सञ्जाल फेसबुक र टिकटकलाई समाजसेवाका लागि गतिलो माध्यम बनाएका छन । सधैं जसो सहयोग अभियानमा केन्द्रित भएर उनका पोष्टहरु बाहिर आइरहेका हुन्छन । गाउँदेखि शहर सम्म जोडिएका उनका सहयोगका अपिलहरु उत्तिकै प्रभावकारी र परिणाममुखी पनि भइरहेका छन । अहिले सम्म करिब ९ जना भन्दा धेरै गरीब दुखिहरुको उपचार सेवामा केन्द्रित भएर सहयोग जुटाउने अभियान चलाएका उनले इमान्दार व्यवहार गर्नेलाई मात्रै सहयोगी अभियानहरुमा समाजको साथ हुने गरेको बताए ।

पछिल्लो समय झापा गाउँपालिका वडा नं-७ फुलगाछीका विपन्न दुर्गा हाँस्दाको उपचारका लागि सहयोग अभियान चलाइरहेका उनले भने ” सबै अभियानमा मनकारी दाताहरुको सहयोग मिलेको छ ” । उनको नेतृत्वमा अहिले सम्म ९ जना बिरामी तथा असहायहरुको उपचारका लागि बचाऔं अभियान सञ्चालन गरेका छन । उनीहरु मध्ये ५ जनालाई जतिसुकै प्रयत्न गरेपनि बचाउन त सकेनन तर पैसाकै कारण आफन्त गुमाउनु परेको तितो अनुभव उनका आफन्तहरुलाई हुन दिएनन ।” उपचार गर्दानै नलाग्ने अवस्थाका बिरामीहरु पनि हुनुहुन्थयो , उहाँहरुलाई प्रयास गरियो तर बचाउन सकिएन” राउत भन्छन । बिरामी बचाउन नसकेका त्यस्तो परिवारका लागि जुटेको सहयोग रकमबाट उनीहरुका छोराछोरीका नाममा भएपनि बचत रकम जम्मा गरिदिएर भविष्यमा राहत अनुभति गराउने प्रयास उनले गरेका छन । त्यस्तै आगलागी पीडित सन्थाल समुदायका एक विपन्न परिवारका लागि उनकै नेतृत्वमा दुई कोठे पक्की घर समेत बनाइएको छ ।

एकाध मानिसहरु समाजमा कुरा काटने प्रवृत्तीका भएपनि स्वच्छ भावना राखेर सेवामा लाग्ने मान्छेले त्यस्ता साना मसिना कुराहरुमा अल्झिनु आवश्यक नभएको उनको ठम्याई  छ । आफूले चलाएको सहयोग अभियानमा सहयोग गर्ने दाताहरु आफनै पसलमा चिया पिउन आउने ग्राहकदेखि विदेशमा शरणार्थी जिवन बिताइरहेका समेत रहेका राउतले बताए ।

समाजसेवासंगै छोरीहरुलाई क्याम्पस पढाउन सफल

उनले चिया नास्ताको व्यवसाय गर्दै दमकलाई कर्मथलो बनाएको पनि झण्डै ७/८ बर्ष पुगिसक्यो । ५/७ लाख रुपैयाँ पुँजी लिएर दमकमा गरिखानका लागि आएका काजीले त्यो पैसा खर्चिएर दमकमा त्यतिबेला घडेरीमा पैसा लगाएका भए अहिले कम्तीमा २० लाखको पुँजी भइसक्थ्यो होला । तर बाध्यता त्यो पुँजी लगानी गरेर उनले आफू स्वरोजगार हुँदै छोरीहरुको शिक्षा दिक्षालाई पनि निरन्तरता दिनु थियो । मैंले व्यवसायमा लागेर छोरीहरुको उच्च शिक्षाको चाहनालाई पूरा गर्न सकेको छु । त्यसो त उनको व्यवसायसंगै गाउँमा परम्पारगत खेती पनि छ ।

खेतीपातीमा परिवारको साथ उस्तै छ । परिवारमा मिलाप भयो भने जस्तोसुकै समस्यासंग पनि जुध्न र जिवन सकिन्छ भन्ने उदाहरण पनि राउत परिवार बनेको छ । जेठी माइली छोरीलाई प्लस टु सम्म पढाएपछि अहिले आफनै खुट्टामा उभिने भइसकेका छन । साइँली र कान्छी छोरीलाई अहिले पनि स्नातक तह पढाउँदैछन । साँइली दमक बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत छिन भने कान्छी गाउँकै स्कूलमा प्लस टु पढदैछिन । ” मेरो यो व्यवसायले मात्रै त धान्दैन , गाउँको खेतीपातीको आम्दानीले पनि खर्च धान्न सहयोग पुगेको छ ” राउत भन्छन । व्यवसायले आफू र क्याम्पस पढने छोरीलाई व्यस्त बनाएको छ । ” मानिसहरुसंग चिनजान र सम्पर्कको माध्यम भएको छ ” काजी भन्छन ” त्यो भन्दा ठुलो कुरा मैंले व्यवसायसंगै गरीब , दुखिहरुलाई सेवा गर्ने अवसर पाएको छु ” ।

आर्थिक पारदर्शीता र जवाफदेहीता अनिवार्य

त्यसो त उनले व्यवसायसंगै त्यस किसिमको सामाजिक अभियान्ताको परिचय छोडदै संघ संस्थाहरुमा पनि उत्तिकै सक्रियता जनाउने गरेका छन ।
दमकमा होटल व्यवसायी संघमा आवद्ध भएर व्यवसायीहरुको नेतृत्वमा समेत धेरैको मन जितेका काजी मानिसको सामाजिक जिवन सफल हुनका लागि आर्थिक पारदर्शीता र जवाफदेहिता अनिवार्य भएको धारणा राख्छन ।

विपन्नहरुको स्वास्थ्योपचारमा विशेष किसिमको योगदान  गर्ने गरेका उनले जनप्रतिनिधिहरुले सबैभन्दा पहिला विपन्नहरुको स्वास्थ्योपचार र शिक्षालाई प्राथमिकतामा राखेर नीति , कार्यक्रमहरु ल्याउनु पर्ने सुझाव दिन्छन । बिकास निर्माण एउटा प्रकृया हो , सबैभन्दा महत्वपूर्ण कुरा भनेकै मान्छेको स्वास्थ्योपचार हो । ” त्यसपछि शिक्षाको अवसर दिनु हो ” काजीले कुराकानीको निष्कर्षमा भने ।

 

Facebook Comments Box