इन्द्र गुरुङ दमक नगरपालिका वडा नं ५ का निर्वाचित वडाध्यक्ष हुन् । २०३१ सालमा भोजपुरको टेम्केमैयुमा जन्मिएका गुरुङ विद्यालय उमेरदेखीनै कम्युनिष्ट राजनीतिमा लागेर आफूलाई सर्वहारा वर्गको एउटा सशक्त कार्यकर्ताका रुपमा चिनाउन सफल युवा व्यक्तित्व मानिन्छन् । उनले भोजपुरको अन्नपूर्ण हाईस्कूलबाट प्रारम्भिक शिक्षा लिन शुरु गरेका हुन् । २०४६ सालमा तत्कालिन लखनपुर गाविसमा पर्ने सरस्वती माविमा कक्षा ९ मा पढ्दादेखिनै तत्कालिन अखिलमा आवद्ध थिए ।

२०५१ सालमानै दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका गुरुङ अनेरास्ववियुको प्रारम्भिक कमिटी, जिल्ला, नगर कमिटी हुँदै युवा संघ नेपालको दमक नगर सचिव तथा युवा संघको नगर अध्यक्ष एवम् केन्द्य्रिय अनुशासन आयोगको सदस्य एवम् तत्कालिन नेकपा एमालेको दमक नगर कमिटी सचिव समेत भए ।
पार्टी नगर सचिव भएकै बेला गुरुङलाई पार्टीले दमकको केन्द्रविन्दुका रुपमा चिनिने वडा नं ५ मा पार्टीका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनायो । गुरुङले सानदार मत ल्याएर वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हालेको पनि २ बर्ष वितिसकेको छ । यसै सन्दर्भमा वडाध्यक्ष गुरुङसंग निष्कर्ष न्यूज साप्ताहिकका लागि गरिएको कुराकानीमा प्रस्तुत छ जनप्रतिनिधीको निष्कर्ष ः
तपाइँहरुले स्थानीय तहमा कार्यभार सम्हालेको २ बर्ष वितेको छ । यो अवधिको समिक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
हामीले हाम्रो कार्यभारको २ बर्षलाई हेर्दा जनतामा विकास प्रतिको चाहना एकदमै धेरै पाएका छौं । विकासमा पनि जनताले अझै बढी चाहेको कुरा पूर्वाधार विकासको रहेछ । पूर्वाधार निर्माणलाई हामीले अहिले सम्म उच्च प्राथमिकता दियौं । बाटो, कल्भर्ट, पूल पूलेसा हाम्रो प्राथमिकतामा परे । हामी आईसकेपछि तुलनात्मक रुपमा बजेटको मात्रा पनि स्वभाविक रुपमा बढेको छ र हामीले काम पनि अपेक्षा गरेको भन्दा धेरैनै गर्न सकेका छौं जस्तो लाग्छ ।
कसरी ?
पहिला एउटा वार्डलाई १५ लाख रुपैयाँ बजेट छुट्याइएको हुन्थ्यो । एउटा कुनै सडकमा २÷४ लाख रुपैयाँ ग्राभेलमा छुट्टिनु पनि ठुलै युद्ध जिते जस्तो हुन्थ्यो । तर हामी आएपछि हेर्नुस ०७४÷७५ मा नै ८ करोडको काम त बाटोमा मात्रै गरियो । ०७५÷०७६ मा पूर्वाधारको क्षेत्रमा प्रदेश, जनताको लागत सहभागिता , नगरपालिका र वडास्तरबाट समेत गरी झण्डै ३ करोडको काम भयो । त्यो भनेको दिपीनि मार्ग बाहेकको हो । दिपीनि मार्ग पहिलानै ठेक्का लागिसकेको थियो । यद्यपी सम्पन्न चाहिं ढिलो भएको हो । त्यो अवधीमा ठूला कल्भर्ट २, सडक विभाग मार्फत १ र कालोपत्रे डेढ किलोमिटर सम्पन्न गरियो । ०७४ ÷०७५ मै शहरी विकासबाट एक करोडको सडक स्तरोन्नती योजना सञ्चालन गरियो । वडा भित्रका यलम्बर चोकबाट मालपोत सम्म जाने बाटो, सृष्टि मार्ग, ग्रामथान जाने बाटो, ज्योती चर्च मार्ग संगै ट्राफिक प्रहरी कार्यालय भवन पनि १० लाखमा बन्दैछ ।
वडामै विद्यालय तर्फ दीपिनी आधारभुत विद्यालयको काम वडाका अतिरिक्त संघीय सरकारको लगानीमा पनि हुँदैछ । विद्यालयको बाहिरी कुरामात्रै होइन भित्रि कुरा शौचालय, बाल विकास केन्द्र, मन्टेश्वरी ल्याव, टिफिन बक्स आदीपनि उपलब्ध गराउने कार्यक्रम छ । सामाजिक तर्फ धनेश्वर मन्दिर जाने बाटोमा पनि बजेट विनियोजन भएको छ । शहरी विकास र वडाको बजेटमा ज्येष्ठ नागरिक प्रतिष्ठानमा पनि कम्पाउण्डवाल बनाउनेदेखि ब्ल्याक टप मर्मत अन्तर्गत प्रशान्ती मार्ग, ज्योती मार्ग,, अनाम टोल आदीमा कालोपत्रे मर्मतको काम भएको छ ।
यी बाहेक समुदायलाई प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम चाहिं ?
हामीले वडा कार्यालयका तर्फबाट ३०÷३५ जना महिलाहरुलाई सिलाई कटाई तालिम प्रदान गर्र्योैं । ८ जनाले ब्यूटिसियन तालिम लिनु भयो । कतिले यहाँ मोतीको माला बनाउने , गुडिया, कुसान बनाउने सीपमुलक तालिमहरु लिनु भएको छ । कौशी खेती तालिम, विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्याड बनाउने तालिम आदि हामीले वडामा विभिन्न समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम पनि सञ्चालन गरेका छौं । ड्रेन बनिसकेका सडकको किनारमा हामी ५÷६ सय गमला राख्दैछौं । भर्खरै आँप, लिची, कागती, मेवा, अनार, अमला लगायतका ५ हजार विरुवा वडाबासीलाई वितरण गर्यौ ।
विपन्न तथा सुकुम्बासीका लागि के गर्नु भयो ?
हामीले वडाका पहिला ३६ र अहिले समेत गर्दा ४० परिवारलाई शौचालय बनाउनका लागि ६ हजार रुपैयाँका दरले उपलब्ध गरायौं । सुकुम्बासीको एक घर निर्माणका लागि पनि सहायता प्रदान गरेका छौं । त्यस्तै विपन्नहरुको स्वास्थ्य सेवाको सुनिश्चितताका लागि २७ विपन्न परिवारको स्वास्थ्य वीमा गरिदिएका छौं । किशोरीहरुलाई महिला हिसांबाट जोगाउन आत्मरक्षा सम्बन्धि ७ दिने तालिम प्रदान गर्यौ । , साँस्कृतिक तथा धार्मिक क्षेत्रमा पनि हामीले भजन किर्तन प्रतियोगिता सञ्चालन गर्यौ । किर्तन टोलीलाई आवश्यक बाद्य वादनका सामग्रीहरु उपलब्ध गरायौं । ज्येष्ठहरुलाई लक्षित गर्दै पुस्तान्तर अन्र सम्वाद कार्यक्रम राख्यौं । यस हिसाबबाट भन्दा हामीले हाम्रो प्रतिबद्धता अनुसारनै काम कार्यक्रमहरु अघि बढाईरहेका छौं ।
यति भनिरहँदा पनि दमक नगरपालिका र सबै जनप्रतिनिधिहरुले आरोपहरु खेपिरहनु परेको छ नि ?
आरोप लगाउने कतिपय मानिसहरुको स्वभाव जस्तै हुन्छ । राजनीतिमा त अझै विपक्षीको काम नै आरोप लगाउने भएको छ । जहाँ सम्म हाम्रो वडामा त्यस्तो अवस्था मैंले देखेको छुइँन । सबै जनप्रतिनिधि साथीहरु पनि आफ्नो आफ्नो जिम्मेवारीमा हुनुहुन्छ । कर्मचारीहरुले पनि आफ्नो भुमिका निर्वाह गरिरहनु भएको छ । आवश्यकताका आधारमा विकासका योजनाहरुको छनौट उपभोक्ताहरु आफैंले गर्नुहुन्छ । हामी त्यसलाई कार्यान्वयन गर्ने कुरामा लागेका हुन्छौं ।
वडामा सञ्चालन हुने विकास योजनाहरु जो उपभोक्ता समिति मार्फत गर्नुपर्ने हुन्छ ति योजना सम्पन्न गर्न आवश्यक उपभोक्ता समिति गठनको विधि र प्रकृया छ । त्यसमाथी हाम्रो वडामा त सबै योजना उपभोक्ताको ४० प्रतिशत लागत सहभागितामा बन्ने हुँदा ति सम्बन्धित योजनाको वास्तविक उपभोक्तानै त्यसको समितिमा रहने कुरामा दुईमत नै छैन । लागत सहभागिता नजनाएका उपभोक्ता कोहि पनि समितिमा बस्न सक्ने सम्भावना नै रहँदैन । त्यसकारण यसमा विपक्षी साथीहरुले गरिरहनु भएको तर्कले कुनै अर्थ राख्दैन ।
जहाँ सम्म सार्वजनिक जग्गा अतिक्रमणको सवाल छ त्यस बिषयमा केहि फरक खाले समस्याहरु छन् । तिनलाई सम्बोधन गर्नकै लागि नगरमा जनता आवास तथा विपन्नहरुका लागि घर निर्माण प्रकृया चलिरहेको छ । नगर भित्रका खास समस्या भएका नगरबासीको पहिचान गरेर त्यहाँ पुर्नस्थापना गराउने पनि तयारी छ । अतिक्रमित क्षेत्र खाली गराउने संगसंगै यहाँका बासिन्दालाई विकल्प दिने कुरामा नगरपालिका तयार छ । ति बिषयहरुमा बाहिर गरिएका चर्चा वा आरोपहरु केवल आरोप मात्रै हुन् ।
नगरपालिकाको बोर्ड अर्थात यहाँका जनप्रतिनिधिहरुमाथि किन यति धेरै आरोपहरु आईरहेका छन त ?
वास्तवमा भन्नु पर्दा हाम्रो नगरमा मात्रै होइन केन्द्र सरकारकै पनि महत्वपूर्ण कामहरु,राम्रा कुराहरुको प्रचार प्रसार भएन । यहाँ मिडियाले पनि नराम्रो कुरालाई मात्रै हाइलाइट गरिदिए । हामीकहाँ केहि केहि राम्रा कुराहरु पनि रहेछन् । जुन हामीले स्थानीय तहको अवलोकन भ्रमणका क्रममा पनि पायौं । ति कुराहरुको प्रचार प्रसार नभई केहि साना तिना कम्जोरी, नराम्रा कामहरुको चर्चा परिचर्चा धेरै हुँदाको परिणाम हो ।
विशेष गरी क्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु पार्टीको चेन अफ कमाण्डमा रहनु भएको छैन, आफैं मनखुशी चलिरहनु भएको छ भन्ने कुरा पनि
नेकपा भित्रैबाट आवाज उठिरहेको छ नि ?
पहिलो कुरा त स्थानीय चुनाव पछिदेखिनै हाम्रो तत्कालिन पार्टी नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको सबैलाई जगजाहेर भएकै बिषय हो । त्यसकारण दुईटा पार्टीबीच केन्द्रमा एकता भएपछि त्यसलाई तल्लो तहसम्म ल्याउन अलि समय लाग्यो । पार्टी कमिटीनै कुन हो ? नेतृत्व को हो ? भन्ने जस्तो एक किसिमको अन्योलको अवस्था पनि रह्यो त्यसको प्रभाव पनि हुन सक्छ । जहाँ सम्म पार्टीले बनाएको घोषणा पत्र, चुनावी एजेण्डाहरुलाई कार्यान्वयन गर्ने गराउने कुरामा पार्टीको भुमिका हुनुपर्छ । सरकारले गरेका कामहरुबारेमा जनस्तरसम्म बुझाउने काम पार्टी नेतृत्वको हुन्छ । पार्टीको बैठक , छलफलहरुमा उठाइने बिषय हुन यि । अलि अलि दोष अर्कालाई दिनै पर्ने हामीबीचको गलत संस्कार पनि छ । त्यसले पनि घर गरिरहेको होला । हामीले नगर , वडाको बार्षिक नीति, कार्यक्रम र बजेटहरु निर्माण गर्दा हाम्रो पार्टीसंग मात्रै होइन अरु पार्टीहरुसंग, विज्ञ जानकारहरुसंग आवश्यकता अनुसार परामर्श लिने काम मुख्य हुन्छ । हामीले त्यो गरिनै राखेका छौं । त्यसकारण पार्टीको चेन अफ कमाण्ड बाहिर हामी जनप्रतिनिधि गए जस्तो मलाई लाग्दैन ।
तपाइँको कार्यकालमा ५ नम्बर वडामा गर्ने खास विशेष काम होला ? यो वडालाई कस्तो वडा बनाउने सोच छ ?
पूर्ण विकास त नभनौं तर पनि वडा नं ५ मा धेरै आधारभुत विकास भएको वडा बनिसकेको छ । यहाँको पूर्वाधार विकासका सवालमा मैंले अघिनै पनि भनें । अब भईरहेको विकासलाई निरन्तरता दिदैं तिनको संरक्षण, सम्वद्र्धन र सौदर्यकरणमा हामी जोड दिदैंछौं । यहाँको दीपिनी खोलाको भागलाई संरक्षण गर्ने योजना शुरु भईसकेको छ । अतिक्रमित क्षेत्र खाली गर्ने प्रकृया अघि बढिसकेको छ । यहाँका खोला खोल्सीहरुमा शौचालय र खोरहरुको ढल रोक्दै खोला तर्फ सटर बनाएर त्यो क्षेत्रलाई व्यवसायिक क्षेत्र बनाउने हामी सोच छ । फुटपाथ व्यवस्थित गर्ने, जनचेतनामार्फत वृक्षारोपण गर्दै हरियाली वातावरण बनाएरं सौन्दर्यकरण बढाउँदै सुन्दर वडाको रुपमा स्थापित गर्ने लक्ष्य छ । त्यसै अनुरुप हामीले काम पनि गर्दै आएको छ ।