गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ३ र ४ को सीमा क्षेत्रका बासिन्दाले स्थानीय गौरीया खोलाका कारण आफूहरु विस्थापित हुने खतरा रहेको भन्दै बर्खायाम अगावै तटबन्धन गर्न माग गरेका छन ।
सो क्षेत्रका ७ परिवार बर्खायाम संगै खोलामा आउने बाढी र कटानका कारण विस्थापन हुुने जोखिममा रहेको स्थानीयहरुले बताएका छन । खोला कटानको जोखिम क्षेत्रका बासिन्दाहरुले गाउँपालिका र ३ नम्बर वडा कार्यालयमा यतिबेला खोला कटान तथा रोकथामको लागि तटबन्धन गरिदिन माग गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउन पुगेका छन ।
गौरीगञ्ज गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मखना महतोले सो क्षेत्रमा खोला कटानको दिर्घकालिन समस्या समाधानका लागि माथिल्लो निकायमा ध्यानाकर्षण गराइएको बताउँदै तत्काल अस्थाई तटबन्धन गरेर भएपनि स्थानीबासीलाई जोखिम मुक्त बनाउने प्रतिबद्धता जनाए । उनले हुलाकी मार्ग उत्तर तर्फ पर्ने गौरीगञ्ज ३ र ६ लाई छुटयाउने क्षेत्रमा भने यसैबर्ष १५ लाख रुपैयाँको लागतमा ढुंगाको बाँध लगाएर तटबन्धन काम भइरहेको जनाए । उनका अनुसार केही दिन भित्र त्यहाँ ८६ मिटर लामो तटबन्धन पूरा गर्ने गरि काम भइरहेको छ ।

