दमक/तीन दिन देखी बर्षा हुँदै रोकिँदै गर्ने क्रम चल्दा झापा दमकको शहरी क्षेत्रनै डुबानमा परेको छ ।
यहाँका खोला खोल्सीहरु मिचेर संरचना बनाइएका कारण पानीको निकास बन्द हुन गई शहरी क्षेत्रनै डुबानमा परेको हो । शहरी क्षेत्रमा भएको डुबानका कारण यहाँको उद्योग व्यवसाय क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।

पानीको निकास अवरुद्ध हुँदा दमकको बेलडाँगी रोड, पशुहाट क्षेत्र, वडा नं १ स्थित रवी स्टैण्ड, वडा नं ५ स्थित दिपीनि खोला आसापास क्षेत्रका कतिपय घरहरु डुबानमा परेका छन् ।

आज बिहानको भारी बर्षाका कारण सर्वसाधारणहरु मध्यान्ह सम्म बजार क्षेत्रमा निस्किन नसक्दा व्यवसायिक कारोबारमा समेत मन्दी आएको छ । दमकमा साना ठुला गरी करिब ५ हजार बढी व्यवसायिक फर्महरु सञ्चालनमा छन् । ति मध्ये करीब आधा २ हजार ७ सय जति फर्महरु बैधानिक रुपमा वाणिज्य संघमा आवद्ध भई करको दायरामा रहेका बताइएको छ ।

दमकसंगै गौरादह, शिवसताक्षी, गौरीगञ्ज लगायतका क्षेत्रमा पनि बर्षासंगै खोला नदीहरुमा पानीको सतह बढ्दा दैनिक आवतजावतमा समस्या भएको ति क्षेत्रका बासिन्दाहरुले बताएका छन् । गौरादह ८ र ९ को बीच भएर बग्ने किस्नी खोलामा पानीको सतह बढेपछी आउजाउमा समस्या छ । त्यस्तै कन्काई नदीमा पनि पानीको सतह बढ्दो गतीमा रहेको बताइएको छ । खोला बाढीकै कारण झापामा तीन दिन यता मानवीय क्षति भने भएको छैन ।

Facebook Comments Box