दमक/ झापाको दमकमा कवि शिरोमणी लेखनाथ पौड्यालको शालिक अनावरण गरिएको छ ।
दमक वडा नं ६ र ७ को संगमस्थलमा पर्ने पौड्याल वंशोद्धार केन्द्रिय समितिको निर्माणाधिन भवन तर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको शालिक औपचारिक कार्यक्रमबीच अनावरण गरिएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य, पौड्याल वंशोद्धार केन्द्रिय समिति तथा पौडेल वंश महासंघका नवनिर्वाचित अध्यक्ष लोकनाथ पौडेल र दमक नगरपालिकाकी उपमेयर गीता पौडेल ( अधिकारी) को विशेष आतिथ्यमा पौड्याल वंशोद्धार दमक नगर समितिले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख ओलीले शालिक अनावरण गर्नुभएको हो ।

त्यस अवसरमा नगर प्रमुख ओलीले स्थानीय सरकारले प्रज्ञा प्रतिष्ठान मार्फत नगरमा राष्ट्रिय विभुतीहरुका साथै यहाँको कला, संस्कृति संरक्षणका लागि प्रयास गरिरहेको बताउनु भयो । उहाँले शालिक निर्माणसंगै संरक्षणमा स्थानीय समुदायले विशेष चासो राख्नुपर्ने सुझाउनु भयो ।
उपप्रमुख अधिकारीले दमकमा यस अघिनै महागुरु फाल्गुनन्द, शंखधर साख्वा, भानुभक्त, महाकवी लक्ष्मीप्रसाद देवकोटा लगायतका शालिक स्थापना भईसकेको चर्चा गर्दै निकट भविष्यमा दमक ५ स्थित भृकुटी चोकमा पनि भृकुटीको शालिक स्थापना गरेर राष्ट्रिय विभुतीहरुको सम्मानलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
पौडेल वंश महासंघका अध्यक्ष लोकनाथ पौडेलले शालिक स्थापनाले दमकको पहिचान र गरिमालाई अझ उचाईमा पुरयाएको चर्चा गर्नु भयो । पौड्याल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलको सभापतित्वमा भएको शालिक अनावरण कार्यक्रममा रामकुमारी पौडेलले स्वागत मन्तव्य राख्दै स्व. लेखनाथ पौड्यालका रचना र उहाँको जिवनीको प्रशंसा गर्नुभयो ।
पौड्याल वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष समेत रहेका दमक ७ का निर्वाचित वडाध्यक्ष भीम पौडेलको सक्रियतामा नगर समिति, पौड्याल वन्धुहरुको समेत सहयोगमा दमक नगरपालिकाले सो शालिक निर्माण सम्पन्न गरेको बताइएको छ । शालिक निर्माणमा करीब ६ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष पौडेलले जानकारी दिनु भयो ।